रूपन्देही सामूहिक हत्याकाण्डः सुर्खेतका सिंजाली पक्राउ, एसएसपीको नेतृत्वमा छानविन समिति

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा भएकाे सामूहिक हत्याकाण्डकाे अनुसन्धान गर्न छानविन समिति गठन गरिएको छ। 

कान्छि बजारमा पाँच जनाको हत्या भएको बिषयको अनुसन्धान गर्न प्रदेश ५ प्रहरी कार्यालयले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा छानविन समिति गठन गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले जानकारी दिए। 

मैनहवा गाउँमा रहेको गंगादेवी पशुपालन गाई फार्ममा सोमबार राति पाँचजनाको हत्या भएको हो। मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको डिआइजी धानुकले जानकारी दिए। उनका अनुसार माधव र जानकी श्रीमान–श्रीमती हुन्।

पाँचै जनाको कोदालो प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

‘अहिले नै यहि भन्ने अवस्था छैन। छानविन समिति गठन भएको छ। अनुसन्धान हुन्छ,’ डिआइजी धानुकले भने।

प्रहरीले हत्याको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ। सिंजालीलाई अनुसन्धानको लागि मंगलबार बिहान तिलोत्तमा–१० बाट नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएका युवकले २/३ वर्षदेखी फार्ममा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-09 09:20:24

प्रतिकृया दिनुहोस्