भारत र भारतीय जनताको आत्मसम्मानमा चोट पुग्ने काम कसैबाट हुने छैन: भारतीय रक्षामन्त्री

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय रक्षामन्त्री राजनाथसिंहले भारत र भारतीय जनताको आत्मसम्मानमा कतैबाट चोट पुग्ने काम कसैबाट हुन नहुने र त्यो हुन नदिने बताएका छन्।

पूर्वी लद्दाखस्थित सीमानामा चिनिया र भारतीय सेनाबीच विवाद भैरहेका बेला रक्षामन्त्री सिंहको उक्त अभिव्यक्ति आएको हो। 

भारतीय जनताको पार्टीको सार्वजनिक संवाद र्यालीलाई सम्बोधन गर्दैै रक्षामन्त्री सिंहले पूर्वी लद्दाखको सीमा विवादका सम्बन्धमा भारत र चीनबीच राजनीतिक र सैन्यस्तरमा वार्ता भैरहेको बताउँदै उक्त वार्ता सकारात्मक दिशातर्फ उन्मुख भैरहेको समेत बताएका छन्।

उनले भने, ‘भारत र चीनबीचको सीमा विवाद लामो समयदेखि चलिरहेको छ। हामीले पनि चाहेका छौं कि विवाद चाँडै सुल्झियोस्।’ 

यस महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर  पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ तनाव उत्पन्न हुन सुरू भएको थियो।

तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको छ।

सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका छन्।

भारतीय मिडियाहरुले चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ।

यता भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ।

तर दुवै देशको राजनीतिक र सैन्य नेतृत्व समस्या समाधानका लागि जुटिरहेको छन्।

प्रकाशित मिति: : 2020-06-09 05:58:13

प्रतिकृया दिनुहोस्