भुटानमा भन्दा नेपालमा कोरोना परीक्षण राम्रो हुनेछ: स्वास्थ्यमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले केही दिनमा कोरोना भाइरस परीक्षणमा भुटानभन्दा राम्रो हुने दाबी गरेका छन्।

सोमबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त दाबी गरेका हुन्। यस्तै उनले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबी गरे। 

‘यो एसियाको स्तरमा हामी निकै राम्रो ठाउँमा छौं। अहिले नेपालमा १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको छ। अर्थात प्रति दश लाख ३३३७ मा परीक्षण गरेका छौं,’उनले भने। 

यस्तै मन्त्री ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पीसीआसार परीक्षण रिर्पोट दिने बताए।

‘दिन दिनै सीमा कटेर आउने संख्या धेरै छ। हामीले असार १५ सम्म सातै प्रदेशमा ठूला मेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिर्पोट दिने गरी तयारीमा लागेका छौँ। एउटा दुईटा गर्दै दिनमा ४७ सय परीक्षण गर्न सक्ने ठाउँमा छौं। असार १५ सम्म १० हजार पीसीआर रिपोर्ट दिन सक्ने अवस्थामा पुग्नेछौं’, उनले भने।

मन्त्री ढकालले सात प्रदेशमा एकै साथ ठूला मेसिन किन्ने योजना बनाएको पनि सुनाए।

यस्तै सांसदहरुले कोरोना परीक्षण कम भएको, आरडिटीको गुणरीयतालगायतबारे प्रश्न उठाएका थिए।

उनले त्यसको जवाफ दिँदै आरडीटी विधिको परीक्षणलाई नेपालमा मान्यता नदिएको बताए। मन्त्री ढकालले १४ दिन क्वारेन्टिनमा बसेपछि एन्टीबडी छ कि छैन भनेर मात्र आरडीटी परीक्षण गरेको बताए।

यस्तै मन्त्री ढकालले कोरोना संक्रमित व्यक्तिले १० दिनपछि समुदायमा कोरोना भाइरस फैलाउन नसक्ने हुनाले क्वारेन्टाइनबाट पीसीआर परीक्षणबिनै घर पठाइएको बताए।

‘सामान्यतया महामारी फैलाउन सक्ने क्षमता २ देखि १० दिनसम्म रहन्छ। १० दिनपछि रोगी भए पनि अरुलाई संक्रमण फैलाउन सक्दैन। त्यसैले १४ दिन क्वारेन्टाइनमा राख्न सक्यौं भने त्यसबाट अरु जोखिममा हुँदैनन्। तर उ आफैंमा प्रतिरोधी क्षमता विकास भएको छ कि छैन भनेर हेर्न आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको हो। यो डब्लुएचओले प्रोटोकल अगाडि नै सारेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-06-08 19:16:06

प्रतिकृया दिनुहोस्