जुम्लाको गुठिचौर गाउँपालिकाले आफ्ना सबै नाका सील गरेको छ। कोराना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सबै नाका सील गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार स्थानीयको माग र वर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सिल गरिएको हो। गाउँपालिका भित्र पर्ने छिमेकी जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सिल गरिएको छ।
‘साथै अपरिचित व्यक्तिलाई वडा प्रवेश गर्न पनि निषेध गरिएको छ। एक वडाबाट अर्को वडामा आवत जावतमा पनि कडाई गरिएको छ,’ उनले भने, ‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएको छ।’
गाउँपालिकाले आफ्ना सबै नाकाहरू अर्को सूचना जारी नभएसम्मका लागि सील गरेको छ।