कोरोना महामारी नियन्त्रणमा भएका यी गल्ती

हिमाल खबर

काठमाडौँ

विष्णु रिजाल

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सामान्य कुरामा ध्यान नपुर्‍याउँदा परिस्थिति असामान्य बन्दै गएको छ । यसको पछिल्लो उदाहरण बनेको छ, दैलेख । भारतबाट फर्किएका नागरिकहरूलाई कर्णाली प्रदेशमा प्रवेश गर्नासाथ ‘होल्डिङ सेन्टर’ मा राखेर कम्तीमा आरडीटी (¥यापिड डाइग्नोस्टिक टेस्ट) गरेर घर पठाउन सकेको भए यतिवेला पहाडी जिल्ला कोरोनाको इपिसेन्टर बन्ने थिएन ।

दैलेखमा मात्रै १२ हजारभन्दा बढी मानिस भारतबाट फर्किएको आँकडा छ । क्वारेन्टिन नाम दिएर विद्यालयहरूमा कोचेर राखिएका उनीहरूमध्ये हजार जनाभन्दा कमको परीक्षण हुँदा नै ४०० संक्रमित देखिएका छन् । आतंक फैलिनु स्वाभाविक छ, बाँकीको परीक्षण गर्दा कति संक्रमित पत्ता लाग्ने हुन् ? सँगै एउटै कोठामा सुतेको साथी परीक्षणबाट संक्रमित साबित हुँदा अन्यको मनोविज्ञान कस्तो होला ? यही मनोविज्ञानबीच यतिवेला देशभर लाखौं नागरिक रोग परीक्षणको प्रतीक्षामा छन् ।

कोरोनाभाइरस नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा खाडल देखिएको छ । भारतमा संक्रमण तीव्र भइसकेपछि फर्किएका मानिसहरूमा कोरोनाको सम्भावना अत्यधिक हुन्छ भनेर अनुमान गर्न नसकिने कुरै भएन । एउटै बसमा कोचिएर नेपाल छिरेका नागरिकहरूलाई सीमा क्षेत्रमै होल्ड गरेर परीक्षण गर्नुपर्छ भन्ने योजना बन्न नसक्नु विडम्बना मात्र होइन, चरम लापरबाही हो ।

प्रकाशित मिति: : 2020-06-08 09:08:47

प्रतिकृया दिनुहोस्