सरकारले कोरोना भाइरसको संक्रमण कम गर्न भन्दै जारी गरेको करिव तीन महिना लामो लकडाउनलाई खुकुलो बनाउँदै आएको छ। लकडाउन खुकुलो भएसँगै आइतबार काठमाडाैंमा केही मात्रामा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्।
उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन्। त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव छ।
असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ। उक्त प्रस्तावसँगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक सवारीसाधनमा कोरोना भाइरसको संक्रमणबाट जोखिम कसरी कम गर्ने भन्ने विषयमा निर्देशिका तयार पारेको छ।
विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, यातायातसँग सम्बन्धित निकायहरूसँग छलफल गरी निर्देशिका तयार पारेको
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
उनका अनुसार विभागले तयार पारेको निर्देशिकामा चालक, सहचालकले अनिवार्य रूपमा मास्क, पञ्जा लगाएको हुनुपर्ने, सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजर, राखेको हुनुपर्ने, यात्रुले एकमिटरको दूरी कायम राखी सवारीसाधनमा चढ्नुपर्नेलगायत उल्लेख छ।
‘निर्देशिकालाई अन्तिम रूप दिन व्यवसायीलगायत विज्ञहरूसँग छलफल गर्दै आइरहेका छौं,’ महानिर्देशक हमालले भने,‘विभागले तयार पारेको निर्देशिका सबै प्रदेश कार्यालय, यातायात कार्यालय, व्यवसायी, चालकलगायतलाई लागू हुनेछ।’
प्रदेशस्तर र स्थानीय तहबाट अनुगमन गर्ने गरी उक्त निर्देशिका लागू गरीने उनले बताए।