चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
आर्थिक वर्ष २०७५/०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने गरेको छ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङका अनुसार खोलिएको खातामा गाउँपालिकाले रु १० हजार जम्मा गरिदिने गरेको छ।
'गर्भमै पहिचान गरी बालिकाको भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहन गर्न र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहित गर्न बालिका विकास कार्यक्रम ल्याइएको हो' उनले भनिन्।
कार्यक्रम शुरु भएको दुई वर्ष हुन लागेको बताउदैं उनले भनिन्, 'यस अवधिमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका ४१ बालिकाको बालिका विकास बचत खाता खोलिएको छ।'
कार्यक्रमका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ। पहिलो आर्थिक वर्षमा रु पाँच लाख छुट्ट्याएको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु सात लाख विनियोजन गरेको थियो।
बालिका विकास बचत खाता कार्यक्रमसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाको भनाइ छ।