शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचानका रुपमा रहेको बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २७२ पुगेको छ । बाह्रसिङ्गाको बासस्थानमा सुधार गरिएपछि सङ्ख्यामा बढोत्तरी भएको हो ।
विश्व वातावरण दिवसका अवसरमा शुक्रबार बाह्रसिङ्गा अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले गत वर्ष बाह्रसिङ्गाको सङ्ख्या दुई हजार २४६ रहेकामा यस वर्ष बाह्रसिङ्गाको सङ्ख्या २६ ले बढेको बताए ।
उनका अनुसार अवलोकनका क्रममा ४०४ वयस्क भाले, ८६४ वयस्क पोथी, १४४ अर्धवयस्क भाले, ५५४ अर्धवयस्क पोथी र २२३ पाठापाठी देखा परेका छन् । यसैगरी लिङ्ग नखुलेका बाह्रसिङ्गाको सङ्ख्या ८३ रहेको छ ।
गत वैशाख २१ गतेदेखि २७ गतेसम्म बाह्रसिङ्गाको अनुगमनको कार्य गरिएको हो । बाह्रसिङ्गा गणनाका लागि हात्तीसहित निकुञ्ज कार्यालयका कर्मचारी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका जवान र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको सहभागिता रहेको थियो । हात्तीमा सवार गणकले टाउको गन्ती(हेड काउन्ट) का आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेका हुन् ।
गत वर्ष (सन् २०१९) मा निकुञ्जमा गरिएको अनुगमनका क्रममा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार दुई सय आठ, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी जम्मा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार २४६ रहेको पाइएको थियो । निकुञ्जको स्थापनाकाल सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकोमा सन् १९९३ मा बढेर एक हजार ८५० पुगेको थियो ।
यसैगरी, सन् २००७ मा एक हजार छ सय ७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५, सन् २०१३ मा दुई हजार १७०, सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेका थिए । यसपछिको पाँच वर्ष पछि मात्रै सन् २०१९ मा बाह्रसिङ्गाको अनुगमनको कार्य गरिएको हो ।
बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै पाइने गरेको छ । शुक्लाफाँटा घाँसे मैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ ।
शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजिकका निकुञ्जभित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको छ ।
बाह्रसिङ्गा संवेदनशील, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)मा अनुसूचि १ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचिकृत रहेको छ ।
विसं २०२६ सालमा शिकार वनका रुपमा स्थापना भएको निकुञ्ज विसं २०३३ मा वन्यजन्तु आरक्ष र विसं २०७३ मा निकुञ्जका रुपमा घोषणा भएको थियो ।
निकुञ्ज ३०५ वर्ग किलोटिर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विभिन्न प्रजातिका स्तनधारी जीव, चरा, सरिसृप, उपभयचर र माछालगायतका विभिन्न प्रजातिका वनस्पति, घाँसेमैदान, तालतलैया रहेका छन् ।