नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको भारतले मिचेको भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेको भोलिपल्टै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन–संवाद तय भएको थियो । साँझ छ बजेका लागि तय भएको उक्त वार्ता भारतीय पक्षबाट बिथोलियो ।
त्यसपछि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री ओलीसँग भेटघाटकाे प्रयास गरे । प्रधानमन्त्री ओलीकाे 'व्यस्तता' का कारण राजदूतलाई समय मिलेन । त्यसाे त प्रधानमन्त्री ओलीलाई पनि थाहा नहुने कुरै भएन, राजदूत क्वात्रा नयाँ नक्सा स्थगनकाे लागि माेदीकाे प्रस्ताव लिएर आउँछन् भन्ने । संसदबाट पास गर्नबाट राेक्ने प्रयासमा भारतीय पक्ष रहेकाे छ । प्रधानमन्त्री ओली संसदबाट तत्काल संविधान संशाेधन विधेयक पारित गराउन दृढ छन् । प्रधानमन्त्रीसँग भेटकाे समय नमिलेपछि राजदूतले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्काेटामार्फत् सन्देश पठाएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘व्यस्तता’ को कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वनिर्धारित वार्ता टारेको पाँच दिनपछि भारतीय राजदूत विनयमोहन क्वात्राले बाँस्कोटासँग भेटी नेपाल–भारत सीमाविवादबारे छलफल गरे । नयाँ नक्सा जारी गर्नुको अन्तर्यबारे कुराकानी गरे । अर्थात्, नयाँदिल्लीको हेपाहा व्यवहारले प्रधानमन्त्री ओली कत्तिको गले वा बिच्किए ? यसबारे बुझ्ने प्रयास गरेको छ ।
भारतीय पक्षले नेपाल सरकारले जारी गरेकाे नयाँ नक्सालाई प्रचार गर्दै आएकाे छ– 'मेड इन चाइना' भनेर । कालापानी क्षेत्रबारे चिनिया दृष्टकोण बुझ्नु पनि बाँस्काेटासँगकाे छलफलकाे अर्को उद्देश्य हो- राजदूत क्वात्राको । भेटवार्तामा क्वात्राले चीनकाे दृष्टिकोणबारे पनि प्रथमिकतासाथ जिज्ञासा राखेकाे सहजै बुझ्न सकिन्छ ।
पूर्वमन्त्री बाँस्कोटासँग राजदूत क्वात्राले जेठ ११ गते बिहान करिब ११ बजेतिर करिब डेढ घन्टा कुराकानी गरेका थिए । भारतीय पक्षले उक्त भेटघाटबारे सूचना त्यहाँको सञ्चारमाध्यम ‘अमरउजाला’ मार्फत् सार्वजनिक गर्यो । नेपालमा भने यो समाचार त्यसपछि मात्र फैलिएको हो ।
पूर्वमन्त्री बाँस्कोटाले पनि आफूसँग भारतीय राजदूतले आफूसँग पछिल्लो नेपाल–भारत सम्बन्धबारे छलफल गरेको पुष्टि गरे । ‘दुई छिमेकी हौँ, भेट त भइहाल्छ नि ! यहाँ प्रचार गरिएजस्तो भर्खरै वा प्रचार गरिएजस्तो त्यही ठाउँमा भएको होइन’, बाँस्कोटाले उक्त भेटबारे पंक्तिकारसँग यत्ति भने, ‘भेट अघिल्लै साता भएको हो । युद्ध चलिरहेका दुई देशका प्रतिनिधिबीच पनि भेटवार्ता हुन्छ भने हामी त दुई असली मित्रराष्ट्र हौँ । यो भेट ‘ट्रयाक टु डिप्लोमेसी’ अन्तर्गत अनौपचारिक कुराकानी भएको हो ।
राजदूत क्वात्राले पूर्वमन्त्री बाँस्कोटालाई भेटेर पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुका दुई उद्देश्य देखिन्छन्– पहिलो, नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीको अडान र मोदीले टेलिफोन वार्ता अस्वीकार गरेपछिको प्रधानमन्त्री ओलीको मनस्थिति बुझ्न चाहेको हुनुपर्छ । दोस्रो, आफ्ना कुरा प्रधानमन्त्रीकहाँ पुर्याउनसक्ने नेकपाभित्रको नेताको खोजीमा बाँस्कोटासँग छलफल गरेको हुनसक्छन् । प्रधानमन्त्री ओलीको निजी निवास, बालकोट बस्दै आएका बाँस्कोटा चित्त नबुझेको कुरा ओलीलाई समेत भन्ने आँट गर्छन् ।
राजदूतले भेट्न चाहेको तीन दिन मात्र भेट गरेका थिए– बाँस्कोटाले । राजदूतसँगको अनौपचारिक छलफलमा बाँस्कोटाले नेपालले लिम्पियाधुरा–कालापानी क्षेत्रको पहिले नक्सामा छुटेको भूमि समेटेर नयाँ नक्सा जारी गरेको बताएका थिए ।
राजदूतसँगको भेटमा पूर्वमन्त्री बाँस्कोटाले तिनै कुरा राखे जुन नेपालको आधिकारिक धारणा हो । जुन प्रधानमनी ओलीले भन्दै आएका छन् । उनले भारतीय पक्षलाई जानकारी दिन राजदूतलाई राखेको नेपालको अडान सारमा यस्तो थियो, जुन राजदूत क्वात्राले पक्कै पनि प्रधानमन्त्री ओलीको अडान भनेर बुझे :–
– लिम्पियाधुरा–कालापानी क्षेत्र नेपालको भूमि हो । तथ्य प्रमाणले त्यही भन्छ । नेपालले नयाँ नक्सा जारी गरेर भारतको भूमि दाबी गरेको होइन ।
– त्यो सुगौली सन्धिदेखि नै नेपालको क्षेत्र हो । नक्सामा छुटेको भूभागलाई समेत समेटेर जारी गरिएको हो । इतिहासको कुनै कालखण्डका शासकका कारण भएको गल्तीलाई छाडेर अघि बढ्न मिल्दैन ।
– त्यो नेपालकै भूमि हो । नेपालले दाबी गर्नैपर्दैन । हामीले भारतको भूमि दाबी गरेको होइन । भारतको दाबी पुग्दैन । भारतीय दाबी पुष्टि हुन सक्दैन । यो कुनै शक्ति वा बलको कुरा छैन । तथ्यका आधारमा सत्यको खोजी गर्ने हो ।
– हाम्रो कालापानी क्षेत्रको भूमिबाट सुरक्षाफौज हट्नुपर्छ । सुरक्षाफौज कुनै सन्धि भएर बसेको होइन । त्यो भूमि नेपालको हो र नेपालको रहने छ ।
– समाधान वार्ता नै हो । सैन्य समाधान भारतको खुशी हुनसक्छ, नेपालको रुचि हुँदैन । नेपालले शैन्य समाधान खोजेको होइन । अब सघन रुपमा वार्ता गर्नुपर्छ ।
लामो भेटघाटको क्रममा भारतीय स्वतन्त्रता संग्राममा नेपाली नेताहरु वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीजस्ता नेताले भूमिका खेलको प्रसंगदेखि पशुपतिनाथ र विश्वनाथप्रतिको साझा अस्थाका कुरा समेत भएका थिए । लिम्पियाधुरा– लिपुलेक क्षेत्रमा नेपालले जनगणता गरेको र त्यहाँका मान्छेले नेपाललाइ तिरो बुझाएको प्रमाणबारे समेत कुरा भएको राजदूतलाई बताएका थिए ।
बाँस्कोटाले राजदूतसँग भेट्नुअघि र पछि पनि नेपाल–भारत सम्बन्धबारे सामाजिक सञ्जालमा लगातार लेखेका छन् । सार्वजनिक रूपमा बोलेका पनि छन् । यसले पनि उनको भेटघाटबारे बुझ्न सकिन्छ । राजदूतसँग भेट गर्नुअघि उनले एउटा ट्वीट गरेका थिए, ‘सरल सत्य- नेपालले आफ्नै जमिनको तर भारतले नेपालको जमिनलाई आफ्नो भूभागमा पारेर नक्शा प्रकाशन गरेको हो। आफ्नो माटोको निर्णय गर्न अरु देशको धाप खोज्ने युग उपनिवेशवादको अन्त्यसँगै सकिएको सत्य पनि भारतीय मित्रहरुलाई पक्कै थाहा छ। जोसँग समस्या, उसैसँग वार्ता र समाधान ।’
राजदूतसँग भेटेपछि उनले लेखेका छन्, ुविश्वशक्ति बन्ने भारतीय आकांक्षामा नेपालको गुनासो छैन, बरु शुभकामना छ। त्यस निम्ति उस्को छिमेकी पहिला भन्ने आफ्नै नीति ब्यवहारमा अनुदित हुँदा उसको अन्तर्राष्ट्रिय छवि उजेलिन्छ। नेपालसँगको सीमा समस्या समाधानमा वातावरणको खाजीमा नलागि छिटै वार्ताद्वारा वातावरण बनाउनु राम्रो ।’
एकअर्काको मनस्थिति बुझ्न गरिएको थियो– यो भेटघाट । पक्कै पनि भारतीय राजदूतले दिल्लीमा सन्देश पठाए– नेपाल झुक्नेवाला छैन । आफूलाई ‘बडेभाइ’ सोच्ने भारतीय संस्थापन पक्कै पनि थप ‘इरिटेट’ भयो होला । त्यही अनुसार रणनीति बनाउँदै होला ।
यता भारतीय राजदूतसँगको साक्षात्कारपछि पूर्वमन्त्री बाँस्कोटाको विश्लेषण छ, ‘भारतले नेपाललाई पाँचौँ नाकाबन्दी गर्छ भन्ने मलाइ लाग्दैन । २०० सेना राखेर त्यो भूमि कब्जा हुने युग सकियो ।’
जे होस्, सन् २०१९ नोभेम्बर २ मा भारतले लिम्पियाधुरा—कालापानी क्षेत्रको नेपाली भूमिसमेत हालेर भारतको राजनीतिक नक्सा जारी गरिसकेपछि नेपालले वार्ताका लागि लगातार पहल गरिरहेको छ तर पनि वार्ता हुन सकेको छैन । वार्ता हुन नसकिरहेको बेला बरु नेपालमा प्रधानमन्त्री ओलीको सरकार ढाल्ने प्रयासले तीव्रता पायो । यसैबीच प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरे । त्यसपछि प्रधानमन्त्री स्तरको टेलिफोन संवाद पनि बन्द भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग नेपालले लिम्पियाधुरा–कालापानी क्षेत्रको भूमि समेटेर नक्सा जारी गरेको भोलिपल्टको पूर्वनिर्धारित टेलिफोन–वार्ता पनि ‘कोभिड–१९’ को व्यस्तता देखाएर बिथोलेका थिए । ओलीको अडान छ, ‘पूर्खाले लडेर ल्याएको भूमि अडेर फिर्ता लिनेछु ।’
भारतीय राजदूत र प्रधानमन्त्री ओलीका ‘अघोषित दूत’ बीच अनौपचारिक संवादबाट कुरा सुरु गरेको छ, भारतले । पक्कै पनि भारतीय राजदूतको पहलमा पनि ‘बडेभाइ’ कै व्यवहार देखिन्छ । नेपाल–भारत वार्ता भएर लिम्पियाधुरा–कालापानी क्षेत्रको भूमिबारे भारतीय व्यवहार हेर्दा चाँडै नेपाली भूमि छाड्ने गरी काम अघि बढाउने देखिँदैन । नेपालले पनि उसकाे दाबीबमाेजिम छाड्नसक्ने छैन । त्यसैले चाँडै कुनै निकास निस्किहाल्ला भन्ने अनुमान गर्नु त निकै हतारो हुने छ तर यसबारे नेपाल–भारत औपचारिक वार्ता हुनुपर्छ, नेपालले अडानसाथ आफ्ना विषय प्रस्तुत गर्नुपर्छ । अहिलेको भारतीय शैली हेर्दा त त्यो नै आधा विजय हो ।
अहिलेको भारतीय शैलीले उसको अन्तर्राष्टिय छवि धुमिल हुँदै जाने छ । भारतको साख यसले अरु गिराउने छ । त्यसैले भारत नेपाललाई धेरै दु:ख दिने वा सैनिक कारवाहीमै उत्रिहाल्ने तयारीमा छैन, बरु सकेसम्म विगतमा जस्तै राजनीतिक अस्थिरता निम्त्याउने र कमजाेर राजनीतिक अवस्थामा खेल्नेतिर केन्द्रित हुने५ । दुवै देशका मुख्य कार्यकारीलाई यो पनि थाहा छ– संवादको विकल्प छैन, संवादबाटै समाधान खोज्ने हो । बाँस्कोटाजस्ता प्रधानमन्त्रीनिकट नेताहरुसँगका भारतीय राजदूतका अनौपचारिक छलफलका प्रयास दुई देशबीच उच्च तहमा संवादको वातावरण निर्माण गर्नका लागि सहयोगी हुने छन् । सबै प्रयास त्यसैतर्फ केन्द्रित हुनु जरुरी छ ।