बिसञ्चो छ अमेरिकालाई तैपनि सञ्चै छौं हामी नेपाली 

अमेरिका इतिहासकै एक जटिल मोडबाट गुज्रिरहेको छ। कोभिड-१९ ले दिनुहँ कम्तिमा पनि एकहजार मानिसलाई चिहानघारी पुर्याइरहेको छ।२० हजारभन्दा माथिको संख्यामा नयाँ संक्रमण थपिदैछन्। अझै पनि संक्रमितमध्ये १३ प्रतिशत मरिरहेका छन्। पछिल्लो तथ्यांकले भन्छ, मर्नेको संख्या एकलाख १० हजार उकालो लागेको छ, संक्रमितको संख्या १९ लाख २५ हजार हाराहारीमा पुगेको छ। संसारभरको तथ्यांक हेरदा संक्रमित र मृतको एक चौथाइ संख्या अमेरिकामै छ। 

कोरोना कहरले बन्दाबन्दीमा पारेको अमेरिका किस्ताबन्दिमा खुल्दैछ, अझै पूरा खुलिसकेको छैन। पूरै खुलेर आफ्नो गतिमा कहिले फर्कने हो, अझै पनि यसै भन्न सकिने अवस्था छैन। कोरोनाले अमेरिकी अर्थतन्त्र थिलथिलो भएको छ, यो कसरी तंग्रिएर अगाडि बढ्ने हो, त्यसको पनि कुनै सुनिश्चितता छैन।  

बिस्तारै खुल्दै गएको अमेरिकाका स्टोर खालि हुदैछन्, यी स्टोर भरिने भनेको चिनिया सामानले हो। तर, राष्ट्रपति ट्रम्पले यतिबेलै चीनसँगको सम्बन्ध बिगारेर अत्यन्त जटील मोडमा पुर्याइ दिएका छन्। चिनिया सामान अब कसरी आउँने हो भन्न सकिने अवस्था छैन। अहिले नै अमेरिकी बजारमा उपभोग्य सामानको भाउ बढेको छ। भाउ बढाएर ५० प्रतिशतसम्म छुटमा दिँदा उपभोक्ताले भाउ बढेको अनुभूति गरिहाल्न परेको छैन। चिनिया सामान आउन छोड्ने हो वा आउँदा पनि त्यसमा अतिरिक्त कर लगाइने हो भने उपभोग्य वस्तुको बजार भाउ आकाशिने छ। अमरिकामै सामान उत्पादन गर्ने हो भने त त्यसमा बढ्ने लागतका कारण भाउ छुनै नसकिने हुन्छ।

बन्दाबन्दीका कारण धेरैको अमेरिकी जीवन कम्तीमा पनि तीन महिनाको उधारोमा चलिरहेको छ। सबैखाले बिलमा तीन महिनासम्म विलम्ब शुल्क नलाग्ने भएपछि घरभाडा, ग्याँस, विजुली, मोर्गेज, पानी,  क्रेडिट कार्ड सबै उधारोमै चलेका छन्। बेरोजगारी बढेर चार करोडले त बेरोजगार भत्ताका लागि आवेदन नै दिइसके। अर्थतन्त्र ठप्प भएकाले सबैखाले उपभोक्ताको क्रयशक्ति घटेको छ।यसले अमेरिकामा गरीवी, अभाव र कलह बढाएको छ। अमेरिकी गरिवी भनेको नेपालजस्तो तेस्रो विश्वका देशको जस्तो गरिवी हैन, यो अलि माथिल्लो तहको गरिवी हो तर यो निक्कै जटिल खालको हुन्छ। 

यी सबै प्रतिकुलतासँग लड्नुपरेको अमेरिकामा यतिबेलै रंगभेदविरूद्ध आन्दोलन चर्किएको छ। यो यति जटिल मोडमा पुगेको छ कि अमेरिकी राष्ट्रपति नै सुरक्षाका लागि बंकरमा पुग्नु परेको छ, हजारौ नेशनल गार्ड अमेरिकी सहरमा मार्च पास गरिरहेका छन्। यो संख्या इराक युद्धका बेला तैनाथ गरिएको भन्दा पनि बढी बताइएको छ। ४० भन्दा बढी सहर लगाइएको कर्फ्यु प्रदर्शनकारीले लगातार तोडिरहेका छन्। यसबीचमा प्रदर्शन हिंसात्मक हुँदा सातजनाको ज्यान गैसकेको छ भने १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। आगजनी, लुटपाट र तोडफोडबाट अर्बौं डलरको क्षति भैसकेको छ। 

समस्या चर्किरहेको मात्र छैन, यसको समाधान कसरी गर्ने भन्ने बारेमा पनि अमेरिका ठाडो चिरामा विभाजित छ। देशका कार्यकारी प्रमुख राष्ट्रपति ट्रम्प र उनका कट्टर समर्थकहरू एकातिर उभिएर प्रदर्शनलाई दबाएरै जानुपर्ने अडानमा छन् भने अर्कोतिर बाँकि अमेरिका शान्तिपूर्ण विरोध प्रदर्शनको पक्षमा उभिएर न्यायको प्रत्याभूति हुने किसिमले सम्बोधनको पक्षमा उभिएको छ। यसरी उभिनेमा जिवीत चार पूर्वराष्ट्रपति पनि रहेका छन्। त्यसमा रिपब्लिकन राष्ट्रपति जर्ज बुश पनि अग्रपंक्तिमा रहेका छन्। डेमोक्रेटिक पार्टी त एक ढिक्का भएर समस्यालाई सम्बोधन गरेर अगाडि बढाउनुपर्ने पक्षमा छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीमा मत विभाजन देखिएको छ। राष्ट्रपति ट्रम्प र उनका दक्षिणपन्थी कट्टर अनुयायी दमनको पक्षमा देखिए पनि उदार तथा मध्यमार्गी रिपब्लिकन समस्यालाई सम्बोधन गरेर अगाडि बढाउनुपर्ने पक्षमा छन्। 

अमेरिका इतिहासकै एक संगीन मोडमा उभिएको छ। कोरोना महामारी साम्य नहुँदै रंगभेदविरोधी आन्दोलन चर्किएको छ। र, यी दुबै समस्या जारी रहेकै बेला नोभेम्बर महिनाको ३ तारिख अमेरिकाले आफ्नो ४६औं राष्ट्रपति चुन्नु छ। ४५औं राष्ट्रपति डोनल्ड ट्रम्पसँग यी समस्या समाधान गर्ने जुन प्रेस्कृप्सन छन् ती अधिकांश अमेरिकीका लागि रूचिकर नभए पनि उनी त्यो मान्न तयार छैनन्। २०१६ मा भन्दा बढी अमेरिकी उनको विरूद्धमा छन् तर इलेक्ट्रोल कलेज मत भनिने अजब गजबको चुनावी अंकगणितमा अझैपनि उनी धेरै कमजोर भैसकेका छैनन्। उनलाई यो चुनाव जसरी पनि जित्नु छ भने उनका विपक्षीलाई जसरी पनि हराउनु छ। यसरी चरम प्रतिष्ठाको विषय बनाइएको चुनावका कारण अमेरिका कम्तिमा पनि आउँदो चुनावसम्म अशान्त रहने सम्भावना बढ्दो छ। यस्तो बेला अमेरिकामा रहेका नेपालीका बारेमा घरदेशमा चासो र चिन्ता बढ्नु स्वभाविक हो। अहिलेसम्मको अवस्थामा यति भन्न सकिन्छ- बिसञ्चो छ अमेरिकालाई  तैपनि सञ्चै छौं हामी नेपाली।
 

यी सबै समस्या अमेरिकामा गलत समयमा आएका छन्। पहिलो त अमेरिकाले इतिहासमै यस्तो गजबको राष्ट्रपति पाएको छ जसको समस्या समाधान गर्ने प्रेस्कृप्सन नै अरूसँग मिल्दैन। अमेरिकाभित्र उनका नीति र निर्णयले  अमेरिकीलाई जुटाउनेभन्दा बढी फुटाउने काम गर्छन्, अमेरिका बाहिरका नीतिले अमेरिकालाई एक्ल्याउने काम गर्छन। रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली शासक किम उनका मित्र भएका छन् भने नाटोमा रहेका युरोपेली मित्र राष्ट्र उनका लागि शत्रु भएका छन्। अझ योभन्दा पनि गलत समय यही वर्षको नोभेम्बर ३ मा राष्ट्रपति चुनाव भएर आएको छ। यो चुनाव अमेरिकामा हरेक चार वर्ष आउने आवधिक चुनावभन्दा पनि जसरी पनि जित्नैपर्ने मानसिकतामा रहेका ट्रम्पका कारण फरकखाले चुनाव हुन पुगेको छ। यो चुनावलाई कोरोना महामारी र रंगभेदविरूद्धको आन्दोलनले पनि केही मात्रामा फरक बनाएका छन्।  

राष्ट्रपति ट्रम्पले यसअघिको चुनाव आप्रवासी र स्थापित राजनीतिप्रति घृणा फैलाएर सीमा पर्खाल लगाउने एजेण्डामा अप्रत्यासित रूपमा जितेका थिए। तर, यसपालि उनको त्यो कार्ड काम नलाग्ने भएपछि उनी चीनविरोधी कार्डमा चुनाव लड्ने तयारी गरिरहेका थिए। तर, जर्ज फ्लोइडको मृत्युपछि सुरू भएको प्रदर्शनीले त्यो कार्ड पनि काम नलाग्ने बनाइदिएको छ। अब उनी प्रदर्शनकारीलाई आतंककारी भनेर अर्को हतियार साँद लगाइरहेका छन्। यो खतर्नाक हतियारका साथ उनले चुनाव लडे भने परिणाम जे आए पनि त्यसपछिको अमेरिका कस्तो हुन्छ ?, अनुमान गर्न पनि गाह्रो अवस्था छ।

राष्ट्रपति ट्रम्प अनिश्चयका खेलाडी हुन्। उनले कतिबेला के गर्छन् ?, के भन्छन् ? कसैले पनि अनुमान नै गर्न सक्दैन।  यही अनिश्चयमा खेल्ने रणनीतिका कारण पनि यसपालिको अमेरिकी राष्ट्रपति चुनाव फरक परिदृश्यमा हुने निश्चित छ। त्यो परिदृश्यमा कोरोना र रंगभेदविरोधी प्रदर्शनका दुबै मुद्दा कम्तिमा पनि नोभेम्बरसम्म कायमै रहनेछन्। तिनीहरूको स्वरूप बदलिएला तर तिनै दुई मु्द्दा यसपालिको चुनावका लागि निर्णायक हुनेछन्। चुनावको परिणाम के हुने हो?, यसै भन्न सकिने अवस्था छैन। पछिल्ला परिघटना र मतसर्भेक्षण राष्ट्रपति ट्रम्पका लागि शुभ देखिएका छैनन्। यसले उनको सनक र रिसको पारो बढिरहेको जस्तो देखिन्छ। अहिले उनी कसैसँग पनि हात मिलाउने हैन, सिङ जुधाउने नै मुडमा देखिएका छन्। 

अमेरिकाको यो बदलिदो परिस्थितिमा यहाँ रहेका नेपालीको अवस्था चाँहि कस्तो छ?; नेपालमा रहेका आफन्तमा स्वभाविक रूपमा चासो र चिन्ता बढेको छ। अमेरिकामा रहेका नेपालीले जति नै फेसबुके हाँसो बाँढे पनि यथार्थमा धेरैजसो नेपाली अप्ठ्यारो स्थितिमा छन्। कोरोनाका कारण उनीहरू बेरोजगार भएका छन्, व्यवसाय बन्द छ। त्यसबाट कसरी तंग्रिने भन्ने प्रश्न बाँकि रहदै हिंसक प्रदर्शनको क्रम सुरू भएको छ। यी प्रदर्शन मूलत: ठूला सहरका पनि केन्द्र भाग (डाउन टाउन) मा लक्षित भएकाले प्राथमिक रूपमा त्यसबाट नेपाली खासै प्रभावित हुदैनन्। तर, कोही सचेत नेपाली अल्पसंख्यकको अधिकारका लागि प्रदर्शनमा सहभागी भए भने उनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने हुन्। तर, यो सम्भावना कमै छ।

अमेरिकामा रंगभेद बढ्दा त्यसको असर नेपालीलाई पनि स्वत: पर्छ। कोरोनाकै कारण पनि एसियाली मूलका मानिसमाथि अमेरिकामा एक किसिमको विभेद सिर्जना भएको थियो। रेडनेक भनिने श्वेत अमेरिकीहरू एसियन मूलका खासगरी मंगोलिनय अनुहारका मानिसलाई 'कोरोना' भन्दै हेयका दृष्टिले हेर्न थालेका छन्। यही क्रममा चिनिया मूलका मानिसमाथि नश्लीय विभेद भएका थुप्रै घटना सार्बजनिक भैसकेका छन्। अमेरिकाको पछिल्लो तनाव कालो रंग र सेतो रंगका मानिसबीच भएको भए पनि यसको अर्को आयाम यहाँका रैथाने र आप्रवासीबीचको तनाव पनि हो। यस तनावमा 'ब्राउन कलर' भनिने नेपाली आप्रवासी पनि स्वत: तानिन्छन्। 

प्रकाशित मिति: : 2020-06-06 00:05:47

प्रतिकृया दिनुहोस्