भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किएका दुई महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।
यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टाइनमा बस्ने गरेर पठाउँछौँ ।”
त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् ।
उनीभारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्वारेन्टाइन बस्दै आएकी थिइन् । पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए ।
अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।