सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश दिएकाे अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए।
पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। जसमध्य घटनामा संलग्न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। जाहेरी परेकामध्य २ जना अझै फरार छन्।
जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए। जसमध्य ६ जनाकाे शव भेरी नदी र नदी किनारमा भेटिएको थियो।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको शव नदिमा भेटिएकाे हाे।
जाजरकोट भेरी नगरपालिका–४ का नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन्।