धरानमा एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। धरान १५ बाझगराको स्वीमिङ पुल लाइनस्थित नरबहादुर श्रेष्ठको घरमा बिहीबार बिहान आगलागी भएको हो।
आगलागीबाट मृत्यु हुनेहरुमा श्रेष्ठका ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीयासीता श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले बताए।
आगलागी भएको दुई तलेघरको तल्लो तला सिमेन्टको पक्कीको छ भने माथिल्लो तल्ला काठको थियो। स्थानीय समुदाय र धरानको दमकले करिब १ घण्टामा आगो नियन्त्रण गरेका थिए।
आगलागी नियन्त्रण पछि जलेको अवस्थामा आमा-छोरीको शव फेला परेको प्रहरीले जनाएको छ।
दुवैको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी गृहमा लगिएको छ।