राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन्।
मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ।
देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए। संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनको भनाइ थियो।