एकाइसौं सताब्दीसम्म आइपुग्दा मनुष्य वास्तवमै आफ्नो मिहनेत, बुद्धि, परिश्रम र प्रयत्नले साँचिक्कै महाबली बनिसकेको छ।
अब ऊ प्रकृतिसित पौंठेजोरी खेल्दै उसमाथि पनि विजय पाउन चाहिरहेको छ–महाबली–महामानव–प्रकृतिको पनि मालिक बन्न खोजिरहेको छ। यो हाँस्ने कुरा पक्कै पनि होइन, मनुष्यले विगतका शताब्दीमा वास्तवमै यसका लागि कठीन प्रयास गरेकै हो। गाँस, बास, कपास र आवासको व्यवस्था उसले आफ्नो कठीन प्रयासले सफलतापूर्वक गरेकै हो।
अब यस शताब्दीमा उसले प्रकृतिको स्वामीको रूपमा उत्तिर्ण हुनको लागि प्रकृति विश्वविद्यालयको अन्तिम परिक्षामा सामेल हुने बेला आइपुगेकोछ। यस कोरोना कालमा विश्वका विकसित, अर्धविकसित, अविकसित मुलुकका मनुष्यहरु पनि स्कूल, कौलेजका अन्य विद्यार्थीहरु झैं घुटु घुटु थुक्क निल्दै ऐन परिक्षा कोठामा आइपुगेका छन्।
कोरोना संक्रमणबाट संक्रमित मानिसको थुक फाल्दा वा हाच्छिऊँ गर्दा निस्केको छिट्टाबाट अर्को स्वस्थ्य मानिसमा कोरोनाको संक्रमण भएपछि सर्वप्रथम निमोनिया रोगको लक्षण देखा पर्न थालिहाल्छ। फलस्वरूप श्वास–प्रश्वासको अथिरता (respiratory distress syndrome) देखा पर्न थाल्छ जसको कारणले मस्तिष्कस्तरसम्म अक्सिजन पुग्न सक्दैन यसलाई चिकित्सकीय भाषामा (hypoxic ischemic encephalopathy/hie) भन्छन्। रोगी यस अवस्थामा पुगेपछि श्वासनलीमा (et tube) लगाएर भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । यो क्रिया सफल भएपछि रोगी विस्तारै स्वस्थ्य हुदै जान्छ, सफल न भए भने अङ्गहरुले आफ्नो काम गर्न विस्तारै बिर्सन थाल्दछन तथा रोगी (shocked) हुन पुग्छ जसको कारणले रोगीको तत्कालै मृत्यु हुन पुग्छ। चाइनीज सञ्चार माध्यमले बुहान सहरको कोरोना पीडितहरुको अवस्था प्रसारण गर्ने बेलामा कोरोना संक्रमित रोगीहरु बाटोमा हिड्दै गइरहँदा एक्कासी बाटोमा ढलमलाउँदै लडेर मृत हुने गरेका दृश्यहरु देखाउने गर्थे। कोरोना संक्रमित विश्वका अन्य देशहरुमा पनि यो दृश्य न देखिएको भने होइन, केवल प्रसार मात्र भएनन्।
कोरोनाको परीक्षामा बसेका मानव समुदाय हाल यस रोगको प्रश्नको कुनै पनि जवाफ आफ्नो काबू बाहिर रहेको पाएको अवस्थामा परीक्षमा सोधिएका प्रश्नहरुको उत्तर ठम्याउन्न नसकेर किंकर्तव्यविमूढ़ भइ वाल्ल परेर विश्वभरिका मानवजातिको मुखामुख गरिरहेको अवस्था देखा परिरहेको छ।
हो, यसै अवस्थामा मानवले कठीन परीक्षाको घड़ीलाई पार गर्न एउटा मसिनो त्यान्द्रा समाएर भर पाउने अपेक्षा राख्छ–‘डुब्दै गरेको मान्छेलाई त्यान्द्रोको भर’ भन्ने उखान झैं। यस्तो अवस्थामा यस रोग रूपी अथाह जलमा डुब्नबाट बच्न कुन त्यान्द्रो समात्ने?
सम्पूर्ण विश्व नै कोरोना पीडित भइसकेको अवस्था छ। यस प्रकारका भयानक समयमा मानव आदिकालदेखि नै अदृश्य देउताको भर पर्दै आइरहेकोछ। आफ्नो काबू बाहिरको समस्याको समाधान गर्न मानवले अनायासै देउता गुहार्न पुग्छ। यस भाइरसलाई साम्य पार्न सम्पूर्ण विश्वकै वैज्ञानिकहरु अहोरात्र लागि परेकै छन्, निश्चय नै केही कालमै सफल हुने पनि छन्। तबसम्मलाई हामी आफ्ना इष्टदेउताको शरण पर्न नै वेश हुन्छ।
शास्त्रहरुमा भनिएको पाइन्छ–‘स्तोत्रं कस्य न तुष्टये’ यस वचन अनुसार देउताहरु स्तूति गर्नाले प्रसन्न हुन्छन् तथा स्तूति गर्ने भक्तको मनोकांक्षा पूर्ण गर्छन्। महामारी साम्य पार्न मार्कण्डेय पुराणमा एउटा स्तोत्र उधृत गरिएको छ– विश्वेश्वरि त्वं परिपासि विश्वं, विश्वात्मिका धारयसीति विश्वम ।। अर्थात् विश्वेश्वरि! तपाई विश्वको पालन गर्नुहुन्छ, विश्वरूपा हुनुहुन्छ, यसैले सम्पूर्ण विश्वलाई धारण गर्नुहुन्छ । अतः– पापानि सर्वजगतां प्रशमंनयाशु । उत्पातपाकजनितांश्च महोपसर्गान् ।। अर्थात् हे देवी ! सम्पूर्ण जगतको पाप नष्ट पारि दिनुहोस् र उत्पात एवं पापहरुको फलस्वरू प्राप्त हुने महामारी आदि ठूला ठूला उपद्रवहरुलाइ शिघ्र नाश गरिदिनुहोस्। रोगानशेषानपहंसि तुष्टा, रूष्टा तु कामान् सकलानभीष्टान्। अर्थात देवी ! तपाई प्रसन्न भएपछि सबै रोगहरुलाई नष्ट पारि दिनुहुन्छ। अझै–सर्वा बाधाप्रशमनं त्रैलोक्यस्याखिलेश्वरि । एवमेव त्वया कार्यमस्मद्वैरिविनाशनम् ।। अर्थात् सर्वेश्वरि! तपाई यस त्रिलोकको समस्त बाधाहरुलाइ शान्त पारिदिनुहोस् र हाम्रो शत्रुहरुको नाश गरिराख्नुहोस्। यस भयावह स्थितिमा न आतिएर दैवीशक्तिको आश्रय, सरकारले आदेश गरेको लकडाउनको कडा पालना, उचित सावधानी तथा कर्मठ वैज्ञानिकको भागिरथ प्रयासबाट निकट भविष्यमै कोरोना–कहरमाथि मानवजातिले अवश्य विजय प्राप्त गर्नेछ।
आशावादी भएर सकारात्मक सोँच राख्दै, धैर्य धारण गरि सजगताका साथ घरमा बस्न अपेक्षित छ। माता भगवतीले अवश्य नै विश्वकल्याण गर्नुहुनेछ।
(यस लेखामा चिकित्सिकीय परामर्श डा.सत्येन्द्र द्विवेदी(nmcth, iw department) तथा संजीव द्विवेदी(sr. lab technician, microbiologist) बाट आभारका साथ लिइएको छ। लेखक)