रूपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट सोमबार २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। आईसोलेशनमा रहेर उपचार गराइरहेका उनीहरूको लगातार दुई पटक कोरोना नेगेटिभ देखिएसँगै संक्रमणमुक्त भएका हुन्। निको भएर फर्किएकाहरु अधिकांश कपिलवस्तुका छन्।
प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीका अनुसार डिस्चार्ज हुनेमा चार वर्षकी बालिका र १० वर्षका बालकसमेत छन्।
अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, सिद्धार्थनगर नगरपालिकाका–१, रूपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना र भारतीय नागरिक १जना अस्पतालबाट डिस्चार्ज भएका हुन्।
जसमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेका छन् । उनीहरु सबैलाई गत वैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।
भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन्।
सोमबार डिस्चार्ज हुने सबैलाई पुष्पगुच्छासहित बिदाइ गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
उनीहरूलाई बिदाइ गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद सन्तोष पाण्डेय अस्पताल पुगेका थिए।