पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गरेका हुन्।
महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग गरिएको महानगर प्रमुख जिसीले बताए।
महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गठित उच्चस्तरीय समितिका संयोजक गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघसंस्था, पोखरासँग सीमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर उपलब्ध गराइने जानकारी दिइन्।
चीनबाट सामग्री ल्याउन पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले समन्वय गरेका थिए।
महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो। भगिनी शहरबाट नौ प्रकारका सामग्री पोखरा आइपुगेको छ।
महानगर अन्तरराष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाका अनुसार दश हजार सर्जिकल मास्क, तीन सय गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको हो।
यसअघि भगिनी शहर यिविन र गाञ्जी शहरबाट २० हजार मास्क आइसकेको बताउदैं उनले भने, 'छुचाओ शहरले पठाएको सामग्री बाटामै छ।'
सबै शहरबाट महानगरलाई करीब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो। पोखराले चीनका हाइकाओ, नानिङलगायत शहरसँग पनि भगिनी सम्बन्ध कायम गरेको छ। त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर र दक्षिण कोरियाको ग्यान्बुक गु शहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ।