कोरोना भाइरस (काेभिड–१९)विरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ। शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले उक्त दाबी गरेको हो।
चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्, राज्यपरिषद् अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो।
वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका बताएको छ। सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ। हाल दोस्रो चरणको परीक्षण जारी छ।
मे महिनाको २९ तारिखमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले चीनको सामाजिक सन्जाल वी च्याटमा यसैबारे एक पोष्ट गरेको थियो। त्यसमा लेखिएको छ,‘यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ।’
कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो। तर यसको औषधि अझै पत्ता लागेकाे छैन।
यसकाे चपेटामा परेर विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ।