मुख्यमन्त्री पौडेलले भने- 'धेरै उपलब्धि प्राप्त भएका छन्'

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतन्त्र स्थापनापछि धेरै उपलब्धि प्राप्त भएको बताएका छन्। 

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि  बलियो र अधिकार सम्पन्न स्थानीय तहसहितको तीन तहको सरकार गठन भएर काम भइरहेको बताए। 

राज्य आत्मनिर्भरताको नजिक पुगेको, देशको अर्थतन्त्र सुदृढ हुँदै गएको तथा  शीर ठाडो हुने गरी पराधिनतालाई चुनौती दिने वातावरण बनेको उल्लेख गर्दै उनले भने, 'देशमा भएका विभिन्नखालका जनआन्दोलन, सङ्घर्ष र कयौँको बलिदानीबाट प्राप्त गणतन्त्रले जनमतको आधारमा राज्यको नेतृत्व गर्ने सबैभन्दा सुन्दर प्रणाली स्थापना गरेको छ।' 

उक्त जारी सन्देशमा भनिएको छ, 'देशका सबै जिल्ला र सबै स्थानीय तहको केन्द्रहरुमा सडक सञ्जाल विस्तार भएका छन्। टुकीबत्ती र खरका छाना लगभग विस्थापित भएका छन्। राज्य आत्मनिर्भरको नजिक पुगेको छ। देशको अर्थतन्त्र अन्तर्राष्ट्रिय निकायले देख्ने गरी बढेको छ। स्वाभिमानी नेपालीको शीर ठाडो हुनेगरी पराधिनतालाई चुनौती दिने वातावरण बनेको छ। यी सबै गणतन्त्रका उपलब्धि हुन्।'

प्रकाशित मिति: : 2020-05-28 12:12:41

प्रतिकृया दिनुहोस्