नेपालमा बुधबार दिउँसोसम्म ८८६ जनामा कोरोना पुष्टि भएको छ।
आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार एकै दिन ११४ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि संख्या ८८६ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार मुलुका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो।
डा.देवकोटाका अनुसार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा स्ंक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्।
बुधबारसम्म १ सय ८३ जना निको भएका छन् भने ६९९ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ। सरकारले परीक्षणको दायर बढाउँदै सातै प्रदेशका २० अस्पतालमा पीसीआर परीक्षण गरिरहेको छ भने देशभर आरडीटी विधिबाट व्यापक परीक्षण भइरहेको छ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार पाँचसय २५ र आरडीटी दुई हजार तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ।