राप्रपाले संविधान संशोधन विधेयकमा समर्थन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो।

विधेयकको पक्षमा सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले मतदान गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो।

तर लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो। संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो। त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।

बुधबारको संसद्को सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पेस गर्ने उल्लेख भए पनि सूचीबाट भने हटेको छ।

सत्तारुढ नेकपासँग संविधान संशोधनका लागि चाहिने दुई तिहाई भन्दा केही कम सांसद छन्। नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई सहमतिमा लिनका लागि समय लाग्ने देखेकाले सरकार तत्कालका लागि पछि हटेको हो।
 

प्रकाशित मिति: : 2020-05-27 13:26:17

प्रतिकृया दिनुहोस्