जटही नाकामा एक जना नेपालीको मृत्यु भएको छ। धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको मंगलबार बिहान मृत्यु भएको छ।
उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए।
विरेन्द्र रोजगारी गर्न ४ महिनाअघि भारतको गुजरात गएका थिए। तर लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका थिए।
परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए। बाटोमा उनले सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको भनाइ छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन्।
अब उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने उनले बताए।