‘ब्याट वुमन’को चेतावनी, ‘चमेरोबाट पुनः फैलन सक्छ कोरोनाभन्दा खतरनाक भाइरस’

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोना भाइरस समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या निकै ठूलो भएको बताएकी छिन्।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँग सोमबारको कुराकानीमा चीनको ब्याट वुमन नामबाट चर्चित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीकी उप–निर्देशक शी झेंगलीले चमेरोमा यस्ता थुप्रै भाइरस हुने जुन पुनः संसारभरी फैलन सक्ने बताएकी छिन्।

उनले समय हुँदा नै यसबारे पत्ता नलगाए संसारले यस्तै खालका अन्य महामारीको पनि सामना गर्नुपर्ने चेतावनी दिएकी छिन्।

झेंगलीले भाइरसबारे भइरहेको अनुसन्धानमा सरकार र वैज्ञानिकले पारदर्शी भूमिका अपनाउनुपर्ने बताएकी छिन्। चीनमाथि कोरोना भाइरसबारे समय हुँदा नै संसारलाई जानकारी नदिएको आरोप लागिरहेको छ। यसबारे स्पष्टिकरण दिँदै झेंगले भनिन्, ‘विज्ञानमाथि राजनीतिकरण दुःखद हो।’

उनले कोरोना भाइरससँग जुध्नका लागि संसार एक भएर काम गर्नुपर्ने बताएकी छिन्।

प्रकाशित मिति: : 2020-05-27 08:19:48

प्रतिकृया दिनुहोस्