संविधान संशोधन तत्काल नहुने, कांग्रेसले माग्याे थप समय

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको संविधान संशोधन तत्काल नहुने भएको छ। 

प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा कांग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए। 

जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरे परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरु पनि समेट्न आग्रह गरेका थिए। सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो।

साेही निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा जेठ ७ गते सार्वजनिक गरिसकेको छ। सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ।

प्रकाशित मिति: : 2020-05-26 21:56:36

प्रतिकृया दिनुहोस्