पूर्वमन्त्री बिष्टको पहलमा भारतमा अलपत्र परेका नेपालीलाई राहत वितरण

बिएल संवाददाता

नयाँ दिल्ली

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी जिल्ला क्षेत्र न २ का सांसद गोकर्ण बिष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली समुदायमा राहत वितरण गरिएको छ।

भारतका अलग अलग राज्यहरु दिल्ली, मेघालय, उत्तरप्रदेश, महाराष्ट्र, पन्जाब, हरियाणा, राजीस्थानका कयौ स्थानमा बसोबास गर्ने अलपत्र परेका निम्नवर्गीय नेपाली मजदुरलाई राहत स्वरुप खाद्यान्न तथा अत्यावस्यक सामग्रीहरु वितरण भइरहेको ‘द बोर्नइन नेपाल युथ क्लब’ दिल्लीले जनाएको छ।

कोरोना भाइरसको प्रभाव भारतमा सुरुका दिनहरुमा कम देखिएता पनि पछिल्ला दिनहरुमा भने संक्रमितहरु बढिरहेका छन्। नेपालपछिको अत्यधिक नेपालीहरु बस्ने देश भारतमा कति नेपालीहरु बसोबास गर्छन भन्ने आधिकारिक तथ्यांक समेत छैन। भारतमा बस्ने लाखौ नेपालीहरु यतिखेर रोगले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएको छ।

यो कठिन अवस्थालाई मध्यनजर राख्दै भारत प्रवासमा संचालि पहिलो नेपाली युथ क्लब द वर्नईन नेपाल युथ क्लब, दिल्लीले भोकभोकै बस्न बाध्य भएका विशेष गरी आम मजदुरवर्गका नेपाली समुदायलाइ पहिलो चरणको लकडाउनदेखि नै राहत संकलन तथा विवरण कार्यमा खटिएर परोपकारी कार्यहरु गर्दै आएको क्लबका सचिव सुरेश अर्यालले जानकारी दिए।

धेरै भन्दा धेरै पिडित नेपालीहरु माझ सहयोग पुर्याउनका लागी क्लबले लकडाउनको पहिलो चरणदेखि नै दिल्लीबाट नेपाल सरकारका मन्त्री तथा परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय र पूर्व मन्त्रीहरुलाई समेत पत्राचार मार्फत ध्यानकर्षण गराएको थियो। साथै क्लवले पूर्वमन्त्री बिष्टलाई सहयोगको लागि अपिल समेत गरेको थियो।

सांसद गोकर्ण बिष्टले यस गम्भीर विषयमा विशेष चासो प्रकट गर्दै प्रवासीहरुमा परेका दुख कष्टहरुलाई संसदमा जोडदाररुपमा उठाउनुको साथै भारत प्रवासमा भोकमरीसँग लडिरहेका निम्नवर्गीय नेपाली मजदुरको लागी बिएनवाईसी क्लब दिल्लीको कल्याणकारी कार्यक्रममा श्रमिक  तथा मजदुर वर्गको हकहितको क्षेत्रमा काम गर्ने संघ संस्थाको समन्वयमा प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराएको क्लवका अध्यक्ष सुबास बस्नेतले जानकारी दिए।

‘यस राहत संकलन तथा वितरण कार्यमा राहत पुर्याएर सहयोग गरिदिनु भएकोमा मन्त्री ज्युलाई हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौ', उनले भने, ‘भारतमा रहेका नेपाली जनताहरुको दयनिय अवस्थालाई मध्यनजर गरेर आम जनताप्रति उहाँले देखाउनु भएको सहयोग र सहानुभूति सदैव अविश्मरणीय रहनेछ।’

आगामी दिनहरुमा पनि निरन्तर सहयोग पाउने क्लबले अपेक्षा गरेको कोषाध्यक्ष भरत पौड्यालले बताए। आम नेपालीहरुको कष्टलाई मनन गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र केही सामाजिक संघ संस्था र मनका धनीहरुले समेत राहत संकलन तथा वितरण गरिरहेका छन।

 यसै बीचमा सांसद बिष्टले भारतमा रहेका नेपाली जनताहरुको दयनिय अवस्थालाई मध्यनजर गरेर आम जनताप्रति देखाएको सहयोग र सहानुभूतिले आफूहरु अत्यन्तै हर्षित बनेको त्यहाँका नेपालीहरुले बताएका छन्।

‘द बोर्नइन नेपाल युथ क्लब’ दिल्ली (बिएनवाईसी दिल्ली) भारत प्रवासमा रहेका नेपाली युवाहरुको पहलमा सन् २०११ मा गठित युवावर्गको साझा संस्था हो। जुन भारत प्रवासमा पहिलो नेपाली युथ क्लबको नामबाट समेत परिचित छ।

 बिएनवाईसी राजधानी दिल्लीमा अध्ययन र रोजगारीको शिलसिलामा आएका नेपाली युवाहरु विशेषगरी विद्यार्थी वर्गको छाता संगठन हो।

प्रवासमा नेपाली समाजमा विद्धमान विकृति र विसंगतिलाइ न्युन गर्ने, नेपाली कला संस्कृतिलाई विदेशी भूमिमा संरक्षण तथा सम्बर्दन गर्ने, प्रवासमा अध्ययन तथा रोजगारीको शिलसिलामा आएका आम नेपाली विद्यार्थी र युवावर्गले भोग्नु परेका समस्यालाई समाधानका साथै सम्बन्धित निकाय सम्म पुर्याउनु क्लबको मुलभूत उदेश्य रहेको बताइएको छ।

नेपाली समुदायमा बेलाबखतमा देखिएका आर्थिक, भौतिक जस्ता समस्याहरुमा पनि अग्र पंत्तिमा रहेर सेवा गर्दै आइरहेको क्लबले जनाएको छ ।

प्रकाशित मिति: : 2020-05-25 15:59:50

प्रतिकृया दिनुहोस्