संविधान संशोधनको प्रस्ताव पारित हुने पक्का, कांग्रेसले गर्‍याे समर्थन

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ। 

कांग्रेसको आइतबारको बसेको पदाधिकारी बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा उभिने निर्णय गरेको हो।

सरकारले अतिक्रमित नेपाली भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेलगत्तै निशान छाप परिवर्तनका लागि शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो। 

कांग्रेस संशोधनको पक्षमा उभिएपछि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुने पक्का भएको छ। 

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सविधान संशोधनलाई अघि बढाउन सहमति भएकाे बताए। ‘कांग्रेसले यस बिषयमा पहिल्यैदेखि नै प्रष्ट धारणा राखेको थियो, अहिले पनि राख्दै आएको छ,’महतले भने,‘सविधान संशोधन प्रस्ताव प्रकृयामा अघि बढाउन कांग्रेसले आग्रह गरेको छ,’उनले भने।

विपक्षी जनता समाजवादी दलले प्याकेजमै संविधान संशोधनका लागि साथ खोजेको बिषयमा भने कांग्रेसले छलफल गरेन। 

सभापति शेरबहादुर देउवाले जनता समाजवादीका नेताहरु प्याकेजमै संविधान संशोधनको बिषय लिएर आफूलाई भेट्न आएको जानकारी बैठकमा गराएका थिए। 

अतिक्रमित सिमानासँगको बिषयमा जनता समाजवादीले उठाएको बिषयलाई मिसाउन नहुने भन्दै पछि छुट्टै छलफलको बिषय बनाउनु पर्ने निष्कर्ष बैठकले निकालेको थियो। 

प्रकाशित मिति: : 2020-05-24 21:30:35

प्रतिकृया दिनुहोस्