नरैनापुरबाट गुहार: सरकार चिकित्सक र सुरक्षाकर्मी चाहियो !

जिल्लास्थित नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित (काेभिड–१९)काे संख्या १ सय १४  पुगेकाे छ। 

शनिबार थप २७ जनामा कोरोना भाइरस पुष्टि भएसँगै यहाँको अवस्था झन भयावह बनेको छ। अझै भारतबाट मानिसहरु आउने क्रम निरन्तर चलिरहेको भन्दै अझै संक्रमित बढ्ने जोखिम रहेको गाउँपालिकाले जनाएको छ ।

शनिबार राती एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले नरैनापुरको अहिलेको अवस्था निकै नाजुक रहेको जनाएको छ। उक्त विज्ञप्ति मार्फत् प्रदेश र संघीय सरकारसँग उच्च स्तरीय चिकित्सक र थप सुरक्षाकर्मी माग गरेको छ।

‘यहाँमा क्वारेन्टाइनबाट समुदाय स्तरमा कोरोना सर्न सक्ने सम्भावना बढेको छ । तत्काल उच्च स्तरीय चिकित्सक र सुरक्षाकर्मीको व्यवस्था गरियोस्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालद्धारा हस्ताक्षरीत पत्रमा भनिएको छ। 

विपत्तिको समयमा गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी उस्काउने र झन त्रासको वातावरण सिर्जना भइरहेको पनि उक्त पत्रमा बताइएको छ । 

प्रदेश ५ कै विकासका दृष्टिले निकै पछि रहेको नरैनापुरमा मुस्लिम र मधेसी समुदायको बढी बसोबास रहेको छ। यहाँ चेतनास्तर समेत कमजोर भएकोले मानिसहरुलाई सम्झाई बुझाइ गर्न धेरै गाह्रो भएको गाउँपालिको गुनासो गरेको छ ।  

यसका साथै खुल्ला सीमानाका कारण पनि समस्या थपिएको छ। यहाँ निरन्तर कोरोना संक्रमण देखिएकाले दिल्ली लगायतका सहरबाट आएकाहरुबाट उच्च जोखिम रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-23 22:18:44

प्रतिकृया दिनुहोस्