डा. भट्टराई नेतृत्वको कोमविसापले सरकारलाई बुझायो बजेटबारे 'पोलिसी मेमो'

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता प्रदीप गिरीलगायतले नेतृत्व गरेकाे कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल (कोमविसाप) ले बजेटको लागि सुझावहरु सहितको पोलिसी मेमो सरकारलाई बुझाएको छ । 

विभिन्न क्षेत्रका बौद्धिकहरु र राजनीतिज्ञ सम्मिलित कोराना महाव्याधी विरुद्ध सार्वजनिक पहल (कोमविसाप)ले आर्थिक वर्ष २०७७/७८ को बजेटको लागि सुझावहरुसहितको पोलिसी मेमो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री मार्फत् सरकारालाई बुझाएको छ । 

हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव कोमविसापले प्रस्तुत गरेको हो । 

कोमविसापले भनेको छ, 'सरकारले जारी गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोरोना महाव्याधीले पारिरहेको असर र विभिन्न परिदृश्यमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा आवश्यक संवेदनशीलता नदेखाइएको पाइएको छ । तर, कोरोना भाइरसका कारण एशियाली मुलुकहरुमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति हुने देशमा नेपाल पनि पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । तसर्थ, बजेटले मानवीय संकटको यस घडीमा नागरिकहरुको ज्यान जोगाउने, जोखिममा रहेका नागरिकहरुको न्यूनतम जीविकोपार्जनलाई यथोचित सम्बोधन गर्ने र व्याप्त निराशाको वातावरणमा आशा भर्न सक्ने रोजगारी-केन्द्रित कार्यक्रम ल्याउनैपर्छ ।'

कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक सङ्कटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा बौद्धिकहरू सम्मिलित कोरोना महाव्याधी विरुद्ध सार्वजनिक पहलको सुरुवात भएको हो । 

यस पहलले २०७६ चैत्र २७ गते सम्माननीय प्रधानमन्त्री तथा माननीय उपप्रधानमन्त्रीलाई कोरोना महाव्याधीको समयमा तत्कालै चाल्नुपर्ने कदमहरुको बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव प्रस्तुत गरेको अवगत नै छ । हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव प्रस्तुत गरेको हो । 

प्रकाशित मिति: : 2020-05-23 20:45:44

प्रतिकृया दिनुहोस्