कोरोना जितेर शुक्रबार घर फर्किएका नेपालगञ्जका २१ मध्ये एक जनाको तस्बिरले धेरैको ध्यान खिच्यो। जुन तस्बिर सामाजिक सञ्जाल फेसबुकमा निकै भाइरलसमेत भयो। तस्बिरमा उनी मुखमा मास्क, दायाँ हातमा पुष्पगुच्छा, बायाँ हातमा अस्तपतालले दिएको कोरोना मुक्तिको प्रमाणपत्र, झोला बोक्नुका साथै दोसल्ला ओढेर लम्किदै थिइन्।
यहाँका सांसद, राजनीतिज्ञ, जनप्रतिनिधि, प्रदेश पाँचका मुख्यमन्त्रीदेखि सर्वसाधारणले उक्त तस्बिर पोष्ट गर्दै लेखे, ‘यो बाँकेको लागि खुसीको खबर हो, यो तस्बिरले मन छोयो, यी नानीलाई उज्ज्वल भविश्यको कामना, कोरोना जितेकोमा, चिकित्सक र विरामीहरूलाई सलाम’ यहाँका स्थानीय सञ्चार माध्यमले समेत प्राथमिकताका साथ उनलाई नै बढी फोकस गरे।
कोरोना मुक्तपछि सबैको ध्यान खिच्ने संक्रमित हुन्। नेपालगञ्जकै कान्छी संक्रमित सात वर्षीय बालिका, नेपालगञ्ज ८ की अज्मा अन्सारी। जो साताको आइसोलेसन जीवन बिताएर घर फर्किदै थिइन्।
नेपालगञ्जमा पहिलो पटक एक ६० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भारतबाट सीमा नाकाहुँदै नेपाल प्रवेश गरेका थिए। लगत्तै उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै ‘कन्ट्याक ट्रेसिङ’ र उनको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउने काम गरिएको थियो। केही दिनको अन्तरालमा नेपालगञ्जमा २५ जना संक्रमित भेटिए। ती संक्रमित मध्ये एक सात वर्षीय बालिकासमेत थिइन्।
उनीहरूको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। शुक्रबार कोरोना मुक्त भएर घर फर्किएपछि सात वर्षीया बालिकाका बुबाले करिब ३ साताको आइसोलेसन बसाई, छोरीको दैनिकी बिएल नेपाली सेवाका बाँकेस्थित संवाददाता अछुत कोपिलालाई यसरी सुनाएः
वैशाख १९ गते हाम्रो टोलमा एक जना संक्रमित भेटिए। पछि यहाँको माहोल त्रसित बन्यो। लगत्तै मेरो छोरी, मेरो लगायत धेरै जनाको कोरोना जाँच गरियो। केही दिन पछि हाम्रो रिपोर्ट पोजेटिभ आयो। लगत्तै प्रहरी र अन्य मानिसहरु आए। हामीलाई एम्बुलेन्समा लिएर गए। सबैलाई आइसोलेसनमा राखियो। कहिले पनि घर नै नछोडेकी मेरी छोरी (अज्मा) मलाई ‘हामी कहाँ जाने?’ भनेर बाटोमा सोधिरहेकी थिई। म निःशब्द थिएँ, ‘कही होइन’ भनि टारेँ। पछि अस्पतालमा निश्चित सामाजिक दुरी कायम गर्नुपर्ने थियो। हामी फरक कोठामा बस्नुपर्ने भयो। घरमा सधै मै सँग सुत्थी। त्यहाँ सम्भव थिएन। किनभने हामी दुबै जना संक्रमित थियौं। सानो बच्चा न हो। उसलाई आफ्नो घरको जस्तो वातावरण भएन। केही त निकै असजिलो भयो। शुरूवाती दिनमा रोइरहन्थी। किनभने हामी फरक कोठामा थियौं। पछि अस्पतालका मान्छेलाई भनेर एकै कोठामा दुवै बाउ छोरी देखिने गरि बस्यौं। पछि बानी पर्दै गई। त्यहाँ खेल्न थाली। उसको दैनिकी भनेको चित्र कोर्ने थियो। विभिन्न वस्तुसहित आफ्नो चित्र कोर्थी, रमाउँथी, पढ्थी, सुत्थी। यही नै थियो, अज्माको दैनिकी।
घरमा जस्तो साथीसंगीसँग खेल्ने वातावरण थिएन। करिब तीन साता उसलाई खड्किएको अभाव यहीँ थियो। त्यहाँ उसका उमेरका कोही पनि थिएनन्। हामीलाई बिहिबार नै भोलि घर जाने भनेर जानकारी गराइएको थियो। शुक्रबार बिहान हामी घर जाने भनेपछि ऊ अघिअघि आइ। त्यहाँ हाम्रो सम्मान तथा विदाईको कार्यक्रम थियो।
धेरै मानिसहरुको हाम्रो स्वागतको लागि आएका थिए। सबै जनाले २१ जनालाई क्रमशः खादा ओढाएर, पुष्प गुच्छा सहित विदाइ गरे। उसलाई पनि अरुलाई जस्तै गरेर सबैले माया गरे। धेरैले उज्वल भविश्यको कामना गरे। घर फर्कन पाउँदा निकै खुसी छे। म पनि कोरोनाबाट मुक्त भएको छु। पक्कै पनि खुसी महशुस भएको छ। एउटा महासंकटबाट बचेँजस्तो लागेको छ।
२१ दिनको आइसोलेसन बसाइ निकै राम्रो भयो। खाने, बस्ने र उपचारको काम एक दमै राम्रो थियो। पहिला पनि कही गएका थिएनौं। म भन्न चाहन्छु, ‘सकभर सुरक्षित हुनुहोस्। सरसफाइमा ध्यान दिनुहोस्। कोरोनाको औषधि नै यही हो।
अबको चौध दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने भनिएको छ। हामी होम क्वारेन्टाइन मै बस्छौं। मलाई के अनुभव भएको छ भने यो भनेको त आत्मविश्वासले जितिने युद्व रहेछ।