भारतीय सीमामा चुलिएको विवादबीच ब्यासको गागामा सशस्त्रले बोर्डर आउट पोष्ट स्थापना गरेको दुई सातापछि ब्यासकै थीँमा नेपाली सेनाले पनि शुक्रबारदेखि स्थायी क्याम्प खडा गरेको छ।
आवश्यक बन्दोवस्तीका समाग्री र राशन ढुवानीका लागि सेनाको एमआई–१७ हेलिकोप्टर बिहीबार खलंगा पुगेको थियो भने शुक्रबार बिहानैदेखि काममा सक्रिय छ।
सदरमुकाम खलंगाबाट ६० किलोमिटर टाढा उचाईमा रहेको थीँको ठिक पारी भारतको माल्पा पर्छ भने सेनाको क्याम्पबाट सशस्त्रको बोर्डर आउट पोष्ट ३० किलोमिटर उत्तर पर्छ।
खलंगास्थित दुर्गा दल गुल्मका गुल्मपति सेनानी श्यामराजा विक्रम थापाका अनुसार थीँमा सेनानीकै मातहतमा सेनाको विकास निर्माण कार्यदल रहने छ, जसले सीमामा थप दुईवटा क्याम्प खडा गरेर दार्चुला तिंकर सडकमा काम गर्नेछ।
भारतले मिचेको भू–भाग समेटेर नक्शा जारी गरेपछि ७० को दशकको जस्तै भारतीय मिडिया प्रोपोगाण्डाबीच नेपाली आकाश र जमीनमा विकासको नाममा विवादीत अन्तर्राष्ट्रिय सीमा भइरहेको सेनाको उपस्थिति अर्थपूर्ण छ।
दुई साताअघि शसस्त्रको पोष्ट स्थापना गर्दा नै सेनाले ब्यास र तिंकर क्षेत्रको रेकी गरेको थियो। विष्फोटकको मद्दतमा यी दुई अप्ठयारा भीरहरु बर्खाअघि छिछोल्ने सेनाको योजना छ।
भारतलले बनाएको विवादीत धार्चुला–लिपुलेक सडक पनि उसको सेनाको निर्माण दस्ता बोर्डर रोड अर्गनाईजेशन (बिआरओ) ले बनाएको हो। भारतले भने जस्तै यो बाटो खुलेको भने हैन भारतको बुंदीदेखि गर्ब्याङसम्मका भीर छिछोल्न उसलाई गाह्रो छ।
सरकारले चीनसँगका सीमा जोडने सडकको काममा ढिलाइ भएपछि बैशाख १४ देखि दार्चुला–तिंकर सडकको निर्माण जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। पहिलो सर्भे अनुसार यो सडकको लम्बाई ९६ किलोमिटर भएपनि बाटो तन्काउदै जाँदा यसको दुरी १ सय ३४ किलोमिटर पुगेको हो। सेनाले यो सडकको ८७ किलोमिटर खण्डमा निर्माण गर्ने गरी जिम्मा दिइएको हो।
सेनानी थापाका अनुसार तत्काल ३० को दशकमा बनेको दार्चुला–ब्यास जोडने पैदल बाटोको अप्ठयारो भीर घाँटी बगर र मौरा भीर खोल्ने छ। तिंकर सडकको पनि यो प्रमुख भाग हो। ‘यी दुई ठाँउ खुलेपछि आन्तरीक आवतजावत सजिलो हुने छ भने काममा निरन्तरता दिन अवरोध हुने छैन’ उनले बिएल नेपाली सेवालाई भने। घाँटी बगरको अन्दाजी ४ सय ५० मिटर भीर खोल्न थीँमा सेनाले पहिलो क्याम्प बनाएको हो।
आर्थिक वर्ष २०६५–६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडक योजनामा सरकारले अहिलेसम्म १ अर्ब ३३ करोेड खर्च गरेर ४३ किलोमिटर ट्रयाक खोलेको छ। सुनसेराको तुषारपानीसम्म अहिले ट्रयाक्टर र जीपको आवतजावत सजिलो भएको योजनाका इञ्जिनियर दिनेश रैखोला बताउँछन्।
९६ किलोमिटरमा सर्भे भएको यो बाटो तत्कालीन राजनैतिक कारणले ब्रम्हदेव,हिकिला,धारी र पीपलचौरी गाविस घुमाउँदा सडकको लम्बाई बढेकोे उनले बताए।
विकासकै नाममा भएपनि छुट्टै अन्तर्राष्ट्रिय पहिचान बनाएको नेपाली सेना अबका केही वर्ष भारतसँगको विवादीत सीमामा सक्रिय रहने छ,जसले अतिक्रमणकारी छिमेकीका गतिविधिमा प्रत्यक्ष निगरानीसमेत गर्न सकने छ।