दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि स्वास्थ्य सेवा पुनः सञ्चालन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबारदेखि सेवा बन्दको विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो।
प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा शुरु गरिएको विज्ञप्तिमा जनाएको छ। प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेका थिए।
कोरोनाको मात्र उपचार शुरु गरिने भन्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले सेवा बन्दको घोषणा गरेका थिए।
प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए।
प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन्। हाल प्रतिष्ठानमा करीब ३० विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेका छन्।