आफन्त र क्वारेन्टाइनमा रहेका २१० नागरिकलाई भारत सरकारकाे जिम्मा लगाइयाे

वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा रहेको क्वारेन्टाइन तथा आफन्तकामा आश्रय लिएका २ सय १० जना भारतीय नागरिकलाई भारत सरकारकाे जिम्मा लगाइएको छ।

जिल्ला प्रशाशन कार्यालय पर्सा, भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र, आदर्शनगरको पहलमा क्वारेन्टाइनमा रहेका ९९ जना, २५ जना भारतीय जमाति र अन्य आफन्तमा आश्रय लिएका ९६ जना गरी २ सय १० जनालाई मंगलबार जिम्मा लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिए।

उनीहरुलाई लिन ३ वटा भारतीय बस वीरगञ्ज आइसीपी भन्सारमा आएका थिए। भारतीय नागरिकहरुलाई भन्सार नाका हुँदै भारततर्फ पठाइएको छ।  झण्डै डेड महिनादेखि ठाकुराम क्याम्पसको क्वारेन्टाइनमा रहेका भारतीयहरुलाई ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले खानपिनको व्यवस्था मिलाएको थियो। 

यसैगरी बुधबार भारत रक्सौलको हजारीमल क्वारेन्टाइनमा रहेका नेपालका २५ जिल्लाका २ सय २२ जना नेपाली नागरिकलाई स्वदेश भित्र्याइने छ।  उनीहरुलाई सम्बन्धित जिल्लामा पठाइने र पर्साका ४२ जनालाई भने स्थानिय पालिकाको क्वारेन्टाइनमा राखिने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

यसैवीच भारतको दिल्लीबाट आएका छिपहरमाई गाउँपालिका ४ बन्जारी र तुलसीवर्वाका ९ जना कामदारहरु भारतको सिक्टा क्वारेन्टाइनमा १४ दिन पुरा गरी आज नेपाल  प्रवेश गरेका छन्।

 नेपाल प्रवेश गरेका कामदारहरुलाई पर्साको भिष्वा स्थित मंगल माविमा रहेको क्वारेन्टाइनमा पुनः १४ दिन बस्ने गरि राखिएको सशस्त्र प्रहरीले जनाएको छ।


 

प्रकाशित मिति: : 2020-05-19 19:34:54

प्रतिकृया दिनुहोस्