संसदमा प्रधानमन्त्री: उभिएर सम्बोधन गर्न अप्ठ्यारो, भाइरसबाट बच्न माइक्रोफोनमा रुमाल !

बिएल संवाददाता

काठमाडाै‌ं

संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका थिए।

सम्बोधनको क्रममा उनले आफूलाई बस्ने व्यवस्था मिलाइदिन भनेपछि सम्बोधन केही बेर रोकिएको थियाे। त्यहाँ कुर्ची तयार अवस्थामा नरहेकाले केही बेर अलमलिएका थिए।

प्रधानमन्त्री ओलीले बस्ने व्यवस्था गरिदिन भनेपछि सभामुख अग्नि प्रसाद सापकोटाले सो व्यवस्थाका लागि निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले ‘हालै शल्यक्रिया गरेकाले म धेरै बेर उभिन सक्दिन, बस्ने व्यवस्था मिलाइदिनु भएकोमा सभामुख ज्यूलाई धन्यवाद’ भन्दै आफ्नो सम्बोधन पुनः सुरु गरे।

यस्तै प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सुरक्षात्मक उपाय अपनाए। त्यो सुरक्षात्मक उपाय हो–उनले रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले।

मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री ओलीलाई सभामुखले सम्बोधनका लागि बोलाए। ओली मञ्चमा गएर बोल्नु पूर्व माइक्रोफोनमाथि रुमाल खसाले अनि मास्क फुकालेर बोल्न थाले।

प्रकाशित मिति: : 2020-05-19 15:56:39

प्रतिकृया दिनुहोस्