मुकुन्द नरवानेलाई प्रधानमन्त्रीकाे जवाफ: नेपाल कहिल्यै गुलामीमा र अरूको उक्साहटमा चल्दैन

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहटमा नचल्ने जवाफ फर्काएका छन्।

सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै उनले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताए।

‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु। हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं। कसैको दबाब र निर्देशनमा चल्दैनौं,’ प्रधानमन्त्री ओलीले भने।

यसअघि भारतीय प्रधानसेनापति नरवानेले चीनलाई संकेत गर्दै  कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका थिए। 


यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको उनले बताए। तर पछिल्लो समय जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते रु’


प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरे।

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए। ‘यसको निष्कर्ष निकालिन्छ। हाम्रो भू–भाग फिर्ता लिइछाड्छौं’ उनले भने।

कूटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उनले बताए।

‘भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने। अशोकाले स्थापना गरेको चार मुखे सिंह। त्यसको मुनी सत्यमेव जयदेव लेखेको छ। म सोध्ने वाला सत्यमेव जयते कि सिंहमेव जयते ?’
 

प्रकाशित मिति: : 2020-05-19 14:40:06

प्रतिकृया दिनुहोस्