दार्चुला सदरमुकाम खलंगा उत्तर कालीका किनारै किनार ३० को दशकमा राजा विरेन्द्रको आदेशमा बनेको ब्यास जाने बाटो बनाउन दार्चुलाका सौका समुदाय फेरि जुर्मुराएका छन्।
ब्यास गाउँपालिकाको मौराभीरदेखि छांङ्ग्रु जाने पैदल बाटो निर्माण शुरू भएको छ। गाउँसभाबाट विनियोजन गरिएको १० लाख र कार्यपालिकाले गत वैशाख १९ गते विनियोजन गरेको १४ लाख गरि २४ लाखको लागतमा घोरेटो बाटो उपभोक्ता समितिसँग २५ दिनमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएपछि नीर्माणकार्य आरम्भ भएको छ।
ब्यासीहरुको परम्परागत पैदल बाटो खोल्न पनि कोरोनाले भूमिका खेल्यो। ६ महिना ब्यास र ६ महिना खलंगा बस्ने ब्यासी यो पाली अन्तर्राष्ट्रिय सीमा बन्द भएपछि ब्यास फर्किन पाएका छैनन्। असोजमा चिसो बढ्दा सदरमुकाम झर्ने र वैशाखमा फेरि फर्किने यो परम्परागत चलन यसपाली रोकियो। जसलाई उनीहरुको भाषामा कुञ्चा सर्ने भनिन्छ। बाटो खोल्न उनीहरुले नारा जुलुस गर्दै प्रमुख जिल्ला अधिकारीलाई गत साता ज्ञापन पत्र समेत बुझाएका थिए।
सशस्त्र विद्रोहका नाममा १७ हजार नागरिकको ज्यान जाने गरी भएको कत्लेआमको कालो नजरले यो बाटोलाई पनि छोडेन। ५० को दशकमा यो बाटो माओवादी डरका कारण मर्मत सम्भार हुन छाडेपछि बन्द भएको थियो। सीमापारी भारतले बाटो बनाउन गरेको विष्फोटका कारण ठाउँ ठाउँमा यो पैदल बाटो बन्द मात्र भएन धेरै ठाँउमा हरायो पनि।
भारत चीन युद्वको २ वर्ष अघि नगेन्द्र प्रसाद रिजाल मन्त्रिमण्डलमा दार्चुलाको ब्यासका सौका समुदायबाट बहादुर सिंह ऐतवाल पहिलो सहायक राज्य मन्त्री थिए, ऐतवाल कालापानीमा भारतीय कब्जाका साक्षी थिए उनले सरकारलाई यसबारे अवगत गराएकै कारण लामो समय मन्त्री पदमा टिकेनन। उनका दार्चुलामा सहयोगी थिए ब्यासकै समाजसेवी सोबन सिंह तिंकरी।
चीनको आग्रहमा राजा वीरेन्द्रले २०३२ सालमा खम्पा बिद्रोह दबाउन सफल भएपछि ब्यास र तिंकर भ्रमण गरे। ब्यासका सोबन सिंह तिंकरी उतिबेला प्रधान थिए। सोबनलाई राजाले सोधे के चाहियो?
सोबनले मागे, ‘खलंगादेखि ब्याससम्म घोरेटो बाटो।’ मुसुक्क हाँसेर सरोकारवालालाई राजाले तत्काल आदेश दिए, ‘तुरून्त यो बाटो बनाउ।’ राजाको आदेशमा कालीका खोच हुँदै ३० को दशकमा स्तरीय घोरेटो बाटो बनेपछि ब्यासीहरु खुशी भए। कालीका डरलाग्दा भीर काटेर तीरै तिर तम्बाकु, दुम्लिङ हुँदै ब्यास जोड्ने यो पैदल बाटो कुनै बेला तिब्बतको कैलाश मानसरोवर जाने प्रमुख बाटो बन्यो भने भारतीय तिर्थालुसमेत नेपाली बाटो प्रयोग गर्न थाले उतिबेला। काली किनारै किनार ब्याससम्म कडा चट्टान र डरलाग्दा भीर र अनेकौ साना तिना खोलाहरु भएको यो बाटो ब्यासको गागा पुगेपछि लिपुलेकसम्मै सजिलो थियो।
भोट र नेपालको व्यपारमा पनि यो बाटोले अहम भूमिका खेल्यो दुई दशक। सीमा प्रशासन कार्यालयमा लामो समय काम गरेका भवानी सिंह ठगुन्ना भन्छन्, ‘यो बाटो बनेपछि तिब्बतको ताक्लाकोट र दार्चुलाको व्यवसाय राम्रै फस्टाएको थियो।’
ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीका अनुसार यो बाटोको मुख्यतया मौरा भीरमा कडा चट्टान भएकाले समस्या आएको हो। हामी उपभोक्ता समितिसँग मिलेर चाँडो भन्दा चाँडो बाटो खोल्ने तयारीमा छौं। ‘हामीले यो प्रमुख भाग खोल्न सेनाको सहयोग पनि मागेका छौ, हाम्रो आग्रहमा सकारात्मक रहेको सेनाले सहयोग गरे यो बाटो चाँडै खुल्नेछ’, बिएल नेपाली सेवालाई उनले भने।
तम्बाकु खोला, बुँदी खोला र अपि खोलामा ट्रस पुल भएकाले समस्या छैन। यो ऐतिहाँसिक सामरिक बाटो खुलेपछि ब्यासका बासिन्दालाई सजिलो त हुने नै छ शसस्त्र फौजलाई आफ्नो सीमामा गश्ती गर्न र बन्दोबस्तीका समान ढुवानी गर्न सहज हुनुका साथै राज्य संयन्त्र पनि आफ्नो भु–भागको सिधा सम्पर्कमा हुनेछ।
अढाई दशक अघि यो बाटो बन्दभएपछि ब्यासीहरु भारतको बाटोमा भर पर्दै आएका थिए। उनीहरूलाई भारतको धार्चुला प्रशासन आफ्नो भूमिको बाटो प्रयोग गर्ने पास दिएपछि मात्र विदेशी भूमिको बाटो प्रयोग गरी ब्यास आउ जाउ गर्थे। आफ्नो देश आउन पनि परनिर्भर भएका ब्यासीहरुको यो बाटोले भारतीय परनिर्भरता हटाउने निश्चित छ।