बाराकाे कलैयामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो

मध्य तराईको पर्साको वीरगञ्ज र रौतहटमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले कलैया वरपर निषेधाज्ञा जारी गरेको छ।

सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

कोरोना संक्रमित बिरामीको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा र रौतहट जिल्लाबाट कार्यालय लगायतका अन्य काममा बारा जिल्ला आउन समेत रोक लगाउने निर्णय बैठकले गरेको छ।

यस्तै अत्यावश्यक सेवाहरु स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सस कृषि उपज तथा उत्पादन माछा, कुखुरा, मल र बिउका व्यवसाय भने खुल्ला रहने छन्।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जिल्ला भित्र मात्र लागू हुने गरी सिकिस्त बिरामी, अति जरुरी काम बाहेक अरु प्रयोजनका लागि पास जारी नगर्ने निर्णय बैठकले गरेको छ।

औद्योगिक कच्चा पदार्थ बोक्ने ढुवानीका साधनलाई भने सवारी पास आवश्यक पर्ने छैन। वाणिज्य बैंकहरु भने आलोपालो गरेर खोल्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमापूर्ण रुपमा राती १२ बजेसम्मकाे लागि बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-05-18 20:25:48

प्रतिकृया दिनुहोस्