सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० शैयाको कोरोना अस्पताल भवनको निर्माण सम्पन्न भएको छ। कोरोना भाइरसका विरामीको उपचारका लागि प्रदेश सरकारको ९४ लाखको लागतमा अस्पताल भवन निर्माणको काम सकाएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएपनि हस्तान्तरण हुन बाँकी रहेको बताए।
उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन कक्ष सहितको भवन निर्माणको जिम्मा किनारा कन्ट्रक्सनले पाएको थियो।
कन्ट्रक्सनले निर्धारित समय एक महिनामै काम सम्पन्न गरेको भएपनि बजेट भुक्तानी दिन बाँकी रहेकाले छिट्टै ती काम सकेर हस्तान्तरण गर्ने कार्कीले बताए।
धनगढीमा कोरोना अस्पताल निर्माणको काम सकिएपनि कञ्चनपुरको महाकाली अस्पतालमा भइरहेको प्रि–फ्याब प्रविधीकै भवनको निर्माण कार्य सकिएको छैन्।
निर्माण व्यवसायीले निर्माण सामाग्रीको अभाव देखाएपछि अस्पताल भवनको काम समयमै नसकिने देखिएको छ।