छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना

कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ। 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायको प्रमुखहरुको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो। दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको हो। 

भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको कानूनमन्त्री भण्डारीको भनाइ छ। 

'सेन्टर स्थापना गर्न सकिएमात्र कर्णालीमा हुने कोरोनाको उच्च जोखिमबाट बच्न सकिन्छ' उनले भने, 'प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक छ।' 

 पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको सामाजिक विकासमन्त्री दल रावलको भनाइ छ। 

'विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौँ। त्यसपछिमात्र उनीहरुलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं' उनले भने। 

प्रकाशित मिति: : 2020-05-18 15:57:47

प्रतिकृया दिनुहोस्