सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा छैन: नेता महेन्द्र राय यादव

‘सीमा समस्या ९८ प्रतिशत मिलिसक्याे’

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय जनता पार्टी राजपाका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेकाले तारबार लगाउन नहुने बताए।

‘नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको छ,’उनले भने्,‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसी जनताको लागि हितकर छैन।’ 

उनले सीमा विवाद मिलिसकेको भन्दै यो विषयमा दुवै देशले हस्ताक्षर नगरेको दाबी गरे। ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ?’ यादवले प्रश्न गरे।

बाँकी २ प्रतिशत कालापानी र सुस्तामा रहेको उल्लेख गर्दै उनले सरकारलाई दुई ठाउँको समस्या समाधान गर्नेगरी पहल गर्न आग्रह गरे। नेपालमा कालापानीबारेमा मौसमी राष्ट्रवाद रहेको उल्लेख गर्दै उनले सरकारलाई मौसमी राष्ट्रवादमा नअलमलिएर सीमा विवाद समाधान गर्ने गरी पहल गर्न आग्रह गरे।

नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे। ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगाउँछ। पसिना बगाउँछ। हामी त्यहाँ लड्छौं। हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो?’ यादवले भने।

आफूहरु पनि नेपालको भूमि मिचिन नहुने भन्ने पक्षमा रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-05-18 14:08:51

प्रतिकृया दिनुहोस्