ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा

बिएल संवाददाता

रियाे दि जेनेरियाे

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन्। 

कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यहि क्रम जारी रहेमा स्वास्थ्य सेवा प्रणाली चाँडै ‘कोल्याप्स’ हुने मेयर ब्रुनो कोभासले बताएका छन्।

अहिले शहरका अस्पतालहरु ९० प्रतिशत भन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने उनले बताएका हुन्।

कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको शहरमध्ये पर्छ साओ पाउलो, जहाँ अहिलेसम्म झण्डै तीन हजार मानिसको मृत्यु भएको छ।

साओ पाउलोमा झण्डै एक करोड २० लाख मानिसको बसोबास छ। शहरका अधिकांश बासिन्दाले सामाजिक दूरीको नियम उल्लंघन गरेको देखिएको छ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ।

प्रकाशित मिति: : 2020-05-18 08:25:41

प्रतिकृया दिनुहोस्