धनकुटा जिल्ला अस्पताल आसपासको क्षेत्र सिल गर्ने कमान्ड फोर्सको निर्णय

सङ्क्रमित स्वास्थ्यकर्मी आइसोलेसनमा, सोमबार बिहान कोभिड अस्पताल विराटनगर ल्याइने

जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।

आइतबार राति बसेको कोभिड १९ कमान्ड फोर्स धनकुटाको बैठकले धनकुटामा पहिलो पटक देखा परेको कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर जिल्ला अस्पताल र आसपासका क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्स धनकुटा सूचना अधिकारी जयराम श्रेष्ठले बताएका छन् ।

धनकुटाको त्रिवेणी मास्तिर पशु अस्पताल देखि परिचय मोड देखि तल, धनकुटाको बसपार्क हाइवे देखि मास्तिर देखि यलम्बर चौक र सिनेमा हल देखि मास्तिरको क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ ।  सङ्क्रमित स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ । सोमबार बिहान कोरोना अस्पताल विराटनगर ल्याइने बताइएको छ ।

जिल्ला अस्पतालमा उपचाररत सबै बिरामीलाई तत्काल क्वारेनटाइनमा राख्ने र अस्पतालका सम्पूर्ण कर्मचारी र स्वास्थ्यकर्मीलाई पनि क्वारेनटाइनमा राख्ने कोभिड १९ कमान्ड फोर्स धनकुटाको बैठकले निर्णय गरेको छ ।

सङ्क्रमित स्वास्थ्यकर्मी जिल्ला अस्पताल बाहेक कहीँ कतै नगएकोले अस्पतालमा उपचारका लागि आउनेबाटै सङ्क्रमण भएको हुनसक्ने कोभिड १९ कमान्ड फोर्सको बैठकले निष्कर्ष निकालेको छ ।

सोमबार देखि ट्रेसिङ गरेर कोरोना परीक्षणलाई तीव्रता दिने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्स धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2020-05-17 22:56:49

प्रतिकृया दिनुहोस्