नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका २५ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

 देवकोटाका अनुसार वैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा राखिएको थियो।

ती युवकलाई शनिबार साँझदेखि ज्वरो आउनुका साथै  पखाला लागेको  र आइतबार बिहानै  दुई पटक वान्ता पनि गरेका थिए। आइतबार बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रवक्ता डा. देवकोटाले बताए।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।

यसअघि बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण पनि कोरोना रहेको शनिबार पुष्टि भएको थियो। ती महिलाको शनिबार राति अन्त्यष्टि गरिएको थियो।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।

प्रकाशित मिति: : 2020-05-17 16:46:30

प्रतिकृया दिनुहोस्