बाघ संरक्षण गर्ने उद्देश्यले बाँके निकुञ्ज घोषणा भएको १० वर्ष पुग्दैछ । नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघको आहाराको व्यवस्थापन पर्याप्त नहुँदा संरक्षणमा चुनौती देखिएको छ ।
राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ठूलो चुनौती ठानेर नै आहारा प्रजातिका वन्यजन्तुको संख्या बढाउन घाँसे मैदान निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘आहारा प्रजाति बढाउने कामलाई प्राथमिकता दिएका छौं, मृग, चित्तल, चौका, बँदेल, रतुवालगायतका आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी छ ।’
एउटा बाघले वर्षमा औसतमा ६० शिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ जुन एक हप्तासम्मका लागि हुन्छ । यसका लागि आहारा पर्याप्त बढाउनैपर्छ । निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि वृद्धिदर अनुसार पर्याप्त नहुँदा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धिलगायत चुनौती छ । प्रमुख संरक्षण अधिकृत भट्टराईले बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु आवश्यक ठानेर नै प्राथमिकता दिइएको बताए । निकुञ्जले बाघको आहारा प्रजाति बढाउनका लागि यस वर्ष मात्रै २०० हेक्टरमा घाँसे मैदान निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । निकुञ्जले गन्धेली, बुच्चापुर, खैरी र पानीमुहानमा ४०÷४० हेक्टर तथा ओभरीमा ३५ हेक्टर गरी १९५ हेक्टरमा घाँसे मैदान निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ ।
हालसम्म सकिनुपर्ने काम कोरोना संक्रमणसँगै भएको बन्दाबन्दीका कारण केही ढिलाइ भएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । उनका अनुसार अहिले १५० हेक्टर निर्माणको काम सकिएको छ । अब ५० हेक्टरको काम यही जेठ महीनाभित्रै सक्ने गरी काम भइरहेको छ । निकुञ्जमा यसअघि निकै कम ४० हेक्टरमा मात्रै घाँसे मैदान निर्माण गरिएको थियो ।
निकुञ्जभित्र २४० हेक्टरमा घाँसे मैदान भएपछि बाघको आहारा प्रजातिमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘बन्दाबन्दीका कारण निर्माण गर्न बाँकी रहेको कामलाई पुनः निरन्तरता दिएका छौंँ । निर्माणका क्रममा थोरै संख्यामा मजदूरहरु परिचालन गरेर सामाजिक दूरी कायम गर्दै काम भइरहेको छ । हामी बढीमा एक महीनाभित्र काम सम्पन्न गर्छौँ ।’
बाँके राष्ट्रिय निकुन्ज घोषणा भएको १० वर्षमा निकुञ्जमा २१ बाघ पुगेको छ । बाँकेमा सन् २००८ देखि बाघ गणना शुरु भएको हो । सन् २०१३ मा दोस्रो बाघ गणनानुसार निकुञ्जमा चार बाघ देखिएका थिए । सन् २०१८ मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले वृद्धि भई २१ पुग्यो ।
सन् २०१३ पछि बाघको संख्या ह्वात्तै बढे पनि निकुञ्जमा आवश्यक पर्ने आहारा सोचेभन्दा कम रहेकाले संरक्षणमा चुनौती थपिदिएको छ । निकुञ्जमा पछिल्ला वर्ष चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
निकुञ्जमा बाघ उत्साहपूर्ण वृद्धि भएको बताउँदै संरक्षणकर्मी कृष्णलाल चौधरीले भने, ‘बाघको संख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थान सुधारमा लाग्नुपर्ने आवश्यकता छ । बाघलाई जंगलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको संख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ ।’
सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धतानुसार बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर विसं २०६७ असार २८ गते बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । सो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानका रुपमा रहेको छ ।
यहाँ जैविक विविधताको दृष्टिले आठ पर्यावरण प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन् । क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा अभिलेख गरिएको निकुञ्जले जनाएको छ ।