अमेरिकी तल्लो सदनमा दोस्रोपटक १,२०० डलर दिने विधेयकमाथि मतदान हुँदै

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा आज दि हिरोज एक्टमाथि मतदान हुने भएको छ। अमेरिकी करदाता तथा नन-फाइलर्सलाई दोस्रोपटक एकहजार दुईसय डलर राहत दिने प्रस्तावसहितको विल पारित हुने प्रवल सम्भावना छ। 

तीन खर्व डलरको द हिरोज बिलप्रति रिपब्लिकनको सहमति छैन। अधिकांशले यसको विरोध गरिरहेका भए पनि केहीले सहमतिमै विल ल्याउनुपर्ने मत राखेका छन्। उनीहरूका लागि सभामुख न्यान्सी पोलिसीले मोलतोल गर्न तयार रहेको बताएकी छिन्। तर, त्यसको सम्भावना कम हुदै गएको पनि उनले संकेत गरेकी छिन्। 

डेमोक्रेट्स बहुल हाउसमा यो बिल पारित हुने सम्भावना बढ्दै गएपछि त्यसलाई ढिलो बनाउन के गर्न सकिन्छ भनेर रिपब्लिकनले उपाय खोजिरहेका छन्। यही क्रममा उनीहरूले रिमोट मतदानको विरोध गरेका छन् । तर, डेमोक्रेटसले अहिलेको अवस्थामा रिमोट मतदानको विकल्प नभएको भन्दै त्यसैबाट यसको छिनोफानो हुने बताएका छन्। 

यसैबीच राष्ट्रपति ट्रम्प र उनका अनुयायीहरूले यस बिललाई मृत बिल भनेका छन्। उनीहरूले यसलाई ठाडै अस्वीकार गर्दै यसको आवश्यकता नरहेको बताएका छन्।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा आज कोरोना  महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोस्रोपटक १,२०० डलर राहत दिने विधेयकमाथि मतदान हुँदैछ। डेमोक्रेट्ससँग यो विधेयक पारित गर्ने अंकगणित भएकाले रिपब्लिकनको समर्थन बिना पनि यो पारित हुने सम्भावना छ।

बिलमा प्रति परिवारलाई ६ हजार डलरसम्म पाउनेगरी दोश्रो चरणको राहत रकम करदाताको खातामा पठाउने, कोरोनाका कारण काम गुमाएकालाई जनवरीसम्म साप्ताहिक ६०० अमेरिकी डलर दिने, एक खर्ब डलर राज्य सरकार र स्थानीय सरकारलाई उपलब्ध गराउने, अत्यावश्यक कामदारका लागि २०० बिलियन डलर दिने, ७५ बिलियन कोरोना भाइरस टेस्टमा उपलब्ध गराउनेलगायतका विषय समावेश गरिएका छन्।

बिल पारित भएपछि सिनेटमा जाने छ। रिपब्लिकन बहुल सिनेटका अधिकांश रिपब्लकन सिनेटर यस विलको विपक्षमा देखिएकाले यो बिल त्यहाँ पारित हुने सम्भावना क्षीण छ । तर, यो विधेयक पारित नगर्दा चुनावमा नोक्सान हुने लाग्यो भने राष्ट्रपति ट्रम्पको पहलकदमीमा यो बिल पारित हुन पनि सक्छ। 

प्रकाशित मिति: : 2020-05-15 23:52:52

प्रतिकृया दिनुहोस्