चन्द्रागिरि नगरपालिका ‘सिल’, मच्छेगाउँमा तरकारी बेच्नसमेत प्रतिबन्ध

बिएल संवाददाता

काठमाडाै‌ं

चन्द्रागिरि नगरपालिका शनिबार १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजे सम्म लागु हुने गरि  ‘सिल’ गरिएको छ। 

नगरपालिका भित्र उपत्यका बाहिरबाट आएका चार जनामा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले आफ्नो क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो।

नगपालिकामा शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्मीको बैठकले बाहिर हिँड्‍डुल गर्न र स्थानीय सवारी साधन चलाउन नपाउने निर्णय गरेको छ।

थानकोट–कंलकी मुल सडक मात्रै हुँदै सवारी साधन आवतजावत गर्न पाइने भएपनि नगर क्षेत्राधिकारभित्र रोक्ने, यात्रु चढाउन/ओराल्न नपाइने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए।

यो अवधिभित्र औषधि पसल बाहेक अन्य पसल बन्द हुने उनले बताए। यो अवधिमा अति आवश्यक परेको खण्डमा जनप्रतिनिधि र सुरक्षाकर्मीका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने उनले बताए।

 वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएकी चन्द्रागिरि ९ मच्छेगाउँकी ३३ वर्षिया महिला बैशाख २९ गते कञ्‍चनपुरको महेन्द्रनगरबाट सशस्त्र प्रहरीकै भ्यानमा आएकी हुन्। उनका श्रीमान् सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन्। दुई बच्चासहित फर्केकी आमालाई पोजेटिभ देखिएपछि उक्त क्षेत्रका १० वटा घरलाई सिल गरिएको वडाध्यक्ष देवेन्द्र महर्जनले बताए। एक सातापछि बच्चा र श्रीमानको परिक्षण गर्ने उनले बताए। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।

जेठ १ गते कोरोना पुष्टि भएको ३२ वर्षिय पुरुष सशस्त्र प्रहरी बलको अस्पताल नेपालगञ्जमा कार्यरत सुरक्षाकर्मी हुन्। नेपालगञ्जमा चिकित्सक पुर्‍याउन गएको सवारी साधनमा संक्रमित सुरक्षाकर्मी र वडा नम्बर ९ की संक्रमित महिला काठमाडौं आएकी हुन्। संक्रमित पुरुषलाई आउनेबितिक्कै बलम्बु अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ। 

चन्द्रागिरिमा जेठ २ गते दुई जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएको नगरपालिकाका वडा नम्बर १ दहचोकका ७ वर्षीय बालक हुन्। दोलखा स्थायी घर भएका सक्रंमित बालक र उनको आमा चैत्र ६ गते बारा गएका थिए। दुवैजना वैशाख ६ गते एम्बुलेन्समा बाराबाट काठमाडौं आएका थिए।

शुक्रबार नै पुष्टि भएको अर्का कोरोना संक्रमित स्थायी घर धादिङ भई चन्द्रागिरिस्थित सतुगंल बस्ने ३० वर्षिया महिला रहेकी छिन्। यी महिला लकडाउन अवधिमा नै घर गई वैशाख २७ गते काठमाडौं फर्केको प्रवक्ता  महर्जनले बताए। शुक्रबार पुष्टि भएका कोरोना संक्रमित दुवै पाटन अस्पतालमा उपचाररत छन्।

तरकारी बेच्नसमेत प्रतिबन्ध

कोरोना संक्रमण भेटिएपछि मच्छेगाउँमा तरकारी बेच्न पनि प्रतिबन्ध लगाइएको छ।  वडाध्यक्ष देवेन्द्र महर्जनले बुधबार सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको जानकारी दिएका छन्।

यस्तै निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ।

 वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-05-15 19:51:01

प्रतिकृया दिनुहोस्