पर्साको १५ महिने कोरोना संक्रमित बालकको आमाको रिपोर्ट नेगेटिभ

पर्साको कालिकामाई गाउँपालिका १, मुडलीका कोरोना भाइरस संक्रमित १५ महिने बालकको आमाको रिपोर्ट भने नेगेटिभ देखिएको छ। भारतकाे बिहारस्थित पूर्वी चम्पारण रहेको सुगौली माइतिघर भएकी ती महिला बालकसहित नेपाल प्रवेश गरेकी थिइन्। 

जसमा आमासहित बुवाको रिपोर्ट जाँच गर्दा नेगेटिभ देखिएको छ भने बालकको रिपोर्ट पोजिटिभ भेटिएको पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। 

गत शनिबार क्वारेन्टाइनमा पुगेपछि आइतबार बच्चा र आमाबुवाको थ्रोट स्वाब सकलन गरी काठमाडाैं प्रयोगशालामा पठाइएको थियो। तर राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा भएको परीक्षणमा आधारमा बालकको रिपोर्ट पोजेटिभ देखिएको र आमाबुवाको रिपोर्ट नेगेटिभ पुष्टि भएको सहायक सिडियो बस्नेतले जानकारी दिए। 

‘आमाको रोग प्रतिरोधात्मक क्षमता बलियो भएर पनि होला उनी संक्रमणबाट बचिन् र बालक संक्रमणका सिकार भयो तर कतिपय व्यक्तिमा कोरोनाको संक्रमण केहि समय ढिलो देखिने भएकाले आमाको परीक्षण अब २१ दिनमा गर्नै तयारीमा छौं ,‘उनले भने।

बालक सानो भएकाले एक्लै राख्न समस्या भएकाले आमा र बच्चा दुवैलाई  सिद्धार्थ माविमा बनाइएको आइसोलेशनमा राखिएको उनले बताए। तर बुवा भने गाउँमै रहेका छन्।

कालिकामाई गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाका अनुसार भारतीय बजार सिक्टा र भेलाहीबीचमा रहेको खुल्ला सीमानाबाट महिलाले बालक लिएर पैदल पर्सा जिल्ला प्रवेश गरेकी थिइन्। लकडाउन अघि माइत गएकी महिला लकडाउन लम्बिएसँगै घर फर्किएकि थिइन्।

प्रकाशित मिति: : 2020-05-15 18:51:51

प्रतिकृया दिनुहोस्