‘सरकारको स्पष्ट रणनीतिले नेपालभित्र कोरोना भाइरस संक्रमितको जीवन रक्षा सफल’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अबलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता र धैर्यका कारण कोभिड–१९ संक्रमण संक्रमितको जीवन रक्षा गर्न सफल भएको बताएकी छन्।

शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा उनले संक्रमण थप फैलिन नदिन र यसको महामारी नियन्त्रणमा सफलता प्राप्त गर्न आगामी दिनमा अझ सतर्कता अपनाउन समन्वय र एकता आवश्यक जरुरी रहेको बताइन्।

उनले रोकथाम, नियन्त्रण तथा उपचारको अग्रपंक्तिमा खटिएकाहरुप्रति आभार व्यक्त गरेकी छन्। उनले भनिन्, ‘जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक, नर्स, स्वास्थ्यर्मी, सुरक्षाकर्मी,सफाइकर्मी, एम्बुलेन्स चालकलगायत सम्पूर्ण राष्ट्रसेवकको म उच्च प्रशंसा गर्छु।’ सरकार कोभिड १९ को रोकथाममा सुरुदेखि नै सक्रिय रहेको पनि उनले बताइन्।

उनले सम्बोधनका क्रममा जनताको आकांक्षालाई सम्बोधन गर्दै जनभावना अनुसार विकास गर्न सरकार तत्पर रहेको बताइन्। राष्ट्रपति भण्डारीले सम्बोधनको सुरुमै कोभिड–१९ विरुद्ध फ्रन्ट लाइनमा संघर्षरत चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रंशसा गरिन्।

उनले समग्र विकासलाई तीव्रता दिने गरी काम भइरहेको पनि उल्लेख गरिन्। ‘नेपालीको मान, सम्मान बचाउने गरी सरकारले काम गरिरहेको छ’, उनले भनिन्, ‘सरकार समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा गर्न दृढताका साथ काम गरिरहेको छ। सरकारका नारालाई अघिल्लो वर्षदेखि नै कार्यान्वयन गरिरहेको छ। सरकारको गन्तब्य र लक्ष्य दुवै निश्चित छ, कार्यान्वयन पनि भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-15 16:35:33

प्रतिकृया दिनुहोस्