पूर्वि नवलपरासीका कोरोना भाइरस संक्रमित युवक साढे ११ बजे हिडेरै अस्पताल पुगेको खुलेको छ। उनको ट्राभल हिस्टी खोज्दा स्थानीय वासिन्दाले मोटरसाइकलमा लिफ्ट दिन खोजेपनि उनी हिडेरै अस्पताल गएको फेला परेको हो।
उनी भारतबाट आएका थिए।। भरतपुरको केन्द्रीय बस ट्रमिनलमा झरेर पैदलै विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ पुगेका थिए।
एकान्त बाटोमा राति ११ बजे एक्लै हिँडिरहेको देखेपछि स्थानीय मोटरसाइकल चालकले रोकेर कहाँ पुग्ने हो पछाडि बस्नु भनेको उनले चिकित्सकसँग बनाएका छन्।
भरतपुर अस्पतालका डा.प्रमोद पौडेलका अनुसार त्यस क्रममा उनले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए। मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ।
पूर्वी नवलपरासीको देवचुली गाउँपालिका–१२ का ४९ वर्षीय युवक वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल पुगेका थिए। जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार उनी वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए। एउटा ट्रकमा रक्सौलमा आएर झरेका थिए।
त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन्। उनका अनुसार ट्रकमा चालक र सहचालक थिए। ट्रक काठमाडौँतर्फ गएको अनुमान छ।
चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन्। उनी निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन्। ट्रकमा चालक र सहचालक रहेको उनले अस्पताललाई बताएका छन्।
डा.पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो। ट्रक २६२० नं.को रहेको पौडेलले बताए। उनले भने, “सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पु¥याउनुप¥यो।” (रासस)