कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा ९ हजार ९७४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ५२ हजार २४५ पुगेको छ।
यस्तै एकै दिन ९३ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ३०५ पुगेको छ। १ लाख ९६ हजार ४१० जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ।
यस्तै विश्वमा कुल संक्रमितको संख्या पनि ४४ लाख ३७ हजार भन्दा बढी पुगेको छ। संक्रमित मध्ये झण्डै १६ लाख मानिस निको भइसकेका छन्।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार ८ सय भन्दा बढी पुगेको छ। यस्तै त्यहाँ कुल संक्रमितको संख्या १४ लाख १६ हजार भन्दा बढी छ।