कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ। उसले बितेको चार महिनामा यति धेरै मानिसले सोच्दै नसोचको एउटा भाइरसका कारण मर्नु परेकोमा दु:ख व्यक्त गरेको छ। विज्ञानको चरम विकास भएको २१औं शताव्दीमा संसारभर यति धेरै मानिसको मृत्यु हुनु चानचुने कुरा हैन भन्दै मर्नेहरूमा धेरै विकसित देशको हुनु अर्को विडम्वनाको विषय बताएको छ।
चीनबाट सुरू भएको कोरोना भाइरस युरोपमा ठूलो तहल्का मच्चाउँदै यतिबेला अमेरिकामा इपिसेन्टर बनाइरहेको छ। मृतक तीनलाखमध्ये अमेरिकामा मात्र ८६ हजारभन्दा माथि छन्। यो कुल संख्याको २८ प्रतिशतभन्दा पनि बढी हो।
अमेरिका आफूलाई विश्वकै एक मात्र महाशक्ति राष्ट्र दाबी गर्दै आएको छ। त्यही अहिले पनि दिनहुँ औसतमा एकहजार सात सय अमेरिकीको मृत्यु भैरहेको छ।
कोरोना भाइरसबाट कारण मृत्यु हुने शीर्ष १० देशमा अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, इरान र नेदरल्याण्ड रहेका छन्।
विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख र संक्रमितको संख्या ४५ लाखभन्दा उकालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ। यो संख्यामा अमेरिकामा मात्र मर्नेको संख्या ८६ लाख र संक्रमितको संख्या १४ लाखभन्दा माथि छ। प्रतिशतमा निकाल्दा यो क्रमश: २८ र ३३ प्रतिशत हुन्छ। विश्वको एक मात्र महाशक्ति राष्ट्र दाबी गर्ने अमेरिकाको यो बेहाल आँकडाले यहाँको शासकीय सोच र स्वास्थ्यनीतिको पर्दाफास भएको बताइन्छ।
यसैबीच कोरोना भाइरसबाट संक्रमितको संख्या ४४ लाख ९० हजारमाथि माथि पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी अमेरिकामा मात्र १४ लाख ४१ हजारभन्दा बढी संक्रमित भएका छन्। यो कुल संख्याको ३३ प्रतिशतभन्दा पनि बढी हो।
केही समययता कोरोनाको प्रभाव अलि कम हुँदै गएको जस्तो देखिएको छ। यसो हुनुको कारण पहिलो छाल सकिएको, लकडाउन र सोसल डिस्टान्सिङजस्ता कडा रोकथामका नीति अवलम्वन गरिएको बताइएको छ।
कोरोना भाइरसको प्रभावका कमी आउन थालेसँगै विश्वका विभिन्न देशहरूले लकडाउन हटाउन र अन्य रोकथाममा पनि केही खुकुलो बनाउन थालेका छन्। यही क्रममा कोरोनाको दोस्रो छाल आउने हो कि भन्ने चिन्ता बढेको छ। यही विषयलाई लिएर अमेरिकालगायतका कतिपय देशमा स्वास्थ्यविज्ञ र सरकारबीच मतभिन्नताहरू पनि सार्वजनिक भएका छन्।